प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा थप समस्या देखिएपछि ललितपुरको मेडिसिटी भर्ना गरिएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न दुईजना नेतालाई अस्पताल पठाएका छन्।
स्वास्थ्य अवस्था थप जटिल बनेपछि ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएकी सीताको बारेमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेका थिए।
‘सीता दाहाल हस्पिटलाइज्ड भएको सुनेपछि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड कमरेडलाई फोन गरेर स्वास्थ्य अवस्था बुझनुभयो, स्वास्थ्यलाभको कामना गर्नुभयो’ मेडिसिटी पुगेर फर्केका नेता सुवास नेम्वाङले नेपालखबरसँग भने, ‘कमरेड प्रचण्डसँग प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्य अवस्थाबारे थप जानकारी लिन म दुईजना साथीहरुलाई पठाउँछु भन्नुभयो अनि मलाई र महासचिव विष्णु पौडेल मेडिसिटी पुगेर आउन भन्नुभयो। हामी गएर स्वास्थ्य अवस्था हेर्यौं, डाक्टरहरुले अहिले ठीकै छ भन्नुभयो।’
बुधबार विहान स्वास्थ्य अवस्था थप जटिल बनेपछि दाहाललाई मेडिसिटी भर्ना गरिएको हो।
०७४ को दसैँअघि पहिलोपल्ट गम्भीर बिरामी परेकी सीता सोही वर्षको मंसिर ३ गते उनका छोरा प्रकाशको निधनपछि गम्भीर विरामी भएकी हुन्।
अहिले उनी आफैँलाई धान्न नसक्ने स्थितिमा छिन।
उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए।
सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टी गरेको थियो।
त्यसपछि बिभिन्न अस्पतालमा उपचार गराउँदै आएपनि उनको स्वास्थ्यमा सुधार भएको छैन।
२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो।
यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो।
बुधबार एक्कासी स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो।
उनलाई थप उपचारका लागि भारत लग्ने तयारी रहेको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया