राजनीति


सुनकाण्डका आरोपी एसएसपी खत्री र डीएसपी राउत थुनामै रहने

सुनकाण्डका आरोपी एसएसपी खत्री र डीएसपी राउत थुनामै रहने

दीपक खरेल
साउन १७, २०७६ शुक्रबार १२:२६,

सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३ हजार ८ सय किलो सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी श्यामबहादुर खत्री र डीएसपी सञ्जयबहादुर राउतलाई थुनमुक्त गर्न अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिको मोरङ जिल्ला अदालतको आदेश र उच्च अदालत बिराटनगरले २०७५ माघ ३ मा खत्रीका हकमा गरेको आदेश बेरितको नदेखिएको भन्दै थुनामुक्त गर्न इन्कार गरेको हो।

एसएसपी खत्री जिल्ला र उच्चको आदेशबिरुद्ध १७ नम्बर निवेदन लिएर सर्वोच्च आएका थिए। उनले अदालतमा सुन तस्करीका समय आफू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नभएको लिखित बयान सर्वोच्चमा दिएका थिए।

यस्तै डीएसपी सञ्जयबहादुर राउतको हकमा पनि मोरङ जिल्ला अदालत र उच्च अदालत बिराटनगरकै आदेश सदर भएको छ। उनी समेत पूर्पक्षका लागि थुनामा छन्।

सर्वोच्चले फैसलामा दुवैले मुख्य आरोपी गोरे भन्ने चुडामणि उप्रेतीका विभिन्न गोप्य स्थानबाट बरामद रजिष्टरमा विभिन्न समयमा रकम लिएको उल्लेख गरेको छ। 

 सर्वोच्चको फैसलासँगै सुन काण्डमा मुछिएका अवकाश प्राप्त डीआइजी गाेविन्द निराैला,  एसएसपी दिवेश लोहनी, एसपी बिकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले थुना बाहिरै बसेर न्यायिक उपचारकाे सुविधा पाएका छन्।

खत्री र राउतले विमानस्थलमा कार्यरत रहँदा सुन तस्करी समूहसँग रकम लिएको भेटिएपछि अनुसन्धान टोलीले दुवैलाई पक्राउ गरेर कारबाही थालेको थियो।

सरकारले सुन तस्करी अनुसन्धानका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा २० चैत २०७४ मा गठन गरेको विशेष अनुसन्धान टोलीले सबुत प्रमाणसहित १९ बैशाख २०७५ मा मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

मोरङ जिल्ला अदालतले सबै आरोपीलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो। आरोपीमध्ये गोरे बाहेक सबै जिल्लाको आदेशबिरुद्ध उच्च अदालत बिराटनगर गएका थिए। जिल्ला सरकारी वकिलको कार्यालय मोरङ उच्चले छोडेका प्रतिवादीहरू थुनामै राखी पाउँ भनी सर्वोच्च आएको थियो। यसैगरी उच्चले थुनामा पठाएका प्रतिवादीहरू थुनामुक्त भइ मुद्दाको पुर्पक्ष गरीपाउँ भनी सर्वोच्च आएका थिए। दुवैथरिको हकमा एकमुस्ट सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले सबैको हकमा फैसला सुनाएको हो।

यो पनि: सुनकाण्डमा सर्वोच्चको फैसलाः गोल्यानबाहेकको हकमा उच्चको आदेश सदर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .