कारोबार


विदेश निर्यात गर्ने तयारीका साथ खानेपानी उत्पादन सुरु, मह जोडी ब्राण्ड एम्बेस्डर

विदेश निर्यात गर्ने तयारीका साथ खानेपानी उत्पादन सुरु, मह जोडी ब्राण्ड एम्बेस्डर

नेपालखबर
साउन १७, २०७६ शुक्रबार १२:२४,

नेपालको पानी विदेश निर्यात गर्ने उद्देश्यले रुद्र गंगा नेचुरल वाटर कम्पनीले रसुवा जिल्लाको हिमालय क्षेत्रबाट बगेर आउने स्प्रिङ पानीको उत्पादन सुरु गरेको छ। 

खानेपानी मन्त्री बिना मगर लगायतका विशिष्ट व्यक्तिहरुले शुक्रबार विशेष कार्यक्रम गरी रसुवा ब्रान्डको पानीको सुरुवात भएको औपचारिक उद्घाटन गरे।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको गोसाइँकुण्ड नगरपालिका–६ मा प्लान्ट स्थापना गरेर कम्पनीले हिमालय क्षेत्रबाट बगेर आउने पानीको उत्पादन गरिरहेको कम्पनीका अध्यक्ष गणेश भण्डारी जानकारी दिए।

अध्यक्ष भण्डारीले जर्मन प्रविधि र चीन, भारत, र जापानमा बनेका अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर अटोमेटिक रुपबाट पानीको उत्पादन कार्य भैरहेको बताए। कम्पनीले दैनिक ५० हजार लिटर बोतल र ३ हजार जार प्राकृतिक स्प्रीङ वाटर उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ। नेपाली बजारमा तुरुन्त र देश बाहिर खाडी मुलुकहरूमा आउँदो डिसेम्बर सम्ममा पानी निर्यात गरिने अध्यक्ष भण्डारीले बताए।

कार्यक्रममा मन्त्री मगरले नेपालको पानी विश्व बजारमा निर्यात गरि बिक्री गर्ने योजनामा सरकार लागिरहेको बताइन्। उनले हिमालबाट बगेर खेर गइरहेको पानीमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह पनि गरिन्। ‘हाम्रो पानी प्राकृतिक रूपमा खान योग्य छ। अरु देशको भन्दा स्वच्छ र सफा छ’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छौँ। यसको लागि नेपाल सरकार सहयोग गर्न तयार छ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा ब्यापार घाटा निकै बढिरहेको बेला पानी मात्र निर्यात गर्न सके पनि देशलाई फाइदा पुग्ने बताए। उनले नेपालको पानी सिंगापुर, दुबई, कतार, अमेरिका र युरोपमा निर्यात गर्न सकियो भने त्योभन्दा राम्रो देशको लागि अरु केही नहुने धारणा राखे।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अब आर्थिक समृद्धि बढाउन र व्यापार घाटा कम गर्न पानीको निर्यात नै एकदम उपयुक्त हुने बताए।

कम्पनीले वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .