राजनीति


मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव आउँछ : इन्द्र आङबो

नेपालखबर
पुस ११, २०७७ शनिबार १४:२७,

मुख्यमन्त्रीद्वारा बर्खास्त गरिएका प्रदेश १ का आर्थिक ममिला तथा योजनामन्त्री इन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गर्ने बताएका छन्।

मुख्यमन्त्रीले शनिबार उनलाई मन्त्रीबाट बर्खास्त गरेपछि नेपालखबरसँग कुरा गर्दै आङ्बोले आफ्नो नेतृत्वमा आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने बताए।

‘भोली मेरो नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव आउँछ। अविश्वास प्रस्ताव दर्ता गर्नुअघि हामी आफैले राजीनामा दिने तयारीमा थियौं,’ उनले भने, ‘पदमुक्त गरेर उहाँले त्यो कामलाई झनै सहज बनादिनु भयोे, मैले फोन गरेर उहाँलाई बाटो सहज बनाइदिनु भएकोमा धन्यवाद भने।’

आङबोले मुख्यमन्त्री राईविरुद्ध केही मन्त्रीसहित नेकपाका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्ने बताए।

‘भोली अन्य मन्त्री साथीहरुले समेत राजीनामा दिँदै हुनुहुन्छ,’ आङ्बोले भने।

तर कस कसले राजीनामा दिँदैछन् भन्ने बारेमा भने उनले खुलाउन चाहेनन्।

प्रदेश १ मा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका तीनजना मन्त्री थिए। सो प्रदेश सरकारमा राईसहित शिक्षा तथा सामाजिक विकास मन्त्री जीवन घिमिरे र पर्यटन राज्यमन्त्री विजय विश्वास प्रचण्ड–नेपाल समुहका हुन्।

‘कति जना सांसदले हस्ताक्षर गरे भन्ने प्राविधिक विषय हो। प्रदेशमा हामी एक्लै बहुमतको सरकार बनाउन सक्ने अवस्थामा छौं,’ आङ्बोले भने।

कूल ९३ सदस्य रहेको प्रदेश १ मा नेकपाका कूल ६७ जना प्रदेश सभा सदस्य छन्। तीमध्ये प्रचण्ड–नेपाल निकटका ४७ र ओली पक्षका २० जना रहेको बताइन्छ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय नेतृत्वमा विभाजित भएसँगै त्यसको असर प्रदेशमा देखिन थालेको छ।

शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन्।

प्रदेश १ का मुख्यमन्त्री राई जस्तै पौडेल पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहका हुन्।

याे पनि: 
सरकार ढाल्न खोजेको भन्दै प्रदेश १ का मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्री आङ्बोलाई गरे बर्खास्त

प्रदेश सरकार ढाल्ने तयारीमा प्रचण्ड–नेपाल पक्ष, पहिलो निशाना प्रदेश १ र वागमती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad