सत्तारूढ दल नेकपाका प्रचण्ड-माधव पक्षले आज (बिहीबार) पार्टीको महासचिव चयन गर्ने तयारी गरेकाे छ।
साविक महासचिव विष्णु पौडेल ओली समूहतर्फ रहेकाले प्रचण्ड-माधव पक्षले अर्का महासचिव चयन गर्न लागेका हुन्।
आज बिहान साढे ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्ने नेकपाका एक नेताले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार नेकपाको विधानमा पार्टीको बैठक महासचिवले बोलाउनुपर्ने प्रावधान छ। आजको केन्द्रीय कमिटी बैठक यसअघि मंगलबार बसेकै बैठकको निरन्तरता तथा मंगलबारको बैठक पुस १ गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव विष्णु पौडेलसमेत उपस्थित स्थायी कमिटी बैठकले गरेको निर्णयबमोजम बसेको हो।
‘अब अर्काे नयाँ बैठक बोलाउन भने महासचिवको आवश्यकता पर्छ,’ ती नेताले बिहीबार बिहान नेपालखबरसँग भने, ‘तसर्थ आजको केन्द्रीय कमिटी बैठकले महासचिव चयन गर्छ।’
अन्यथा पार्टीको विधान नै संशोधन गर्नुपर्ने हुन्छ।
यी हुन् महासचिवमा सम्भावित नाम
स्रोतका अनुसार महासचिव बन्ने सम्भावनामा नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल, वर्षमान पुन, जनार्दन शर्मा, घनश्याम भुसाल र नारायणकाजी श्रेष्ठ छन्।
तीन शीर्ष नेता अध्यक्ष प्रचण्डले वर्षमान पुन, माधव नेपालले भीम रावल र झलनाथ खनालले सुरेन्द्र पाण्डेकाे नाम लिएका छन्।
तर यीमध्ये सबैभन्दा बढी सम्भावना सुरेन्द्र पाण्डेको छ।
‘प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बनाउने कि भन्ने विषयमा पनि छलफल चलिरहेको छ,’ ती नेताले भने, ‘तर सबैभन्दा बढी सम्भावना सुरेन्द्र पाण्डेकै छ।’
प्रतिक्रिया