नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेकाे छ।
नेकपा (मसाल) को सोमबार बसेको पीवीको बैठकले ओली सरकारले गरेको संसदको विघटन असंवैधानिक र अप्रजातान्त्रिक समेत भएको भन्दै विघटित संसदको पुनर्स्थापनाको लागि संघर्ष गर्ने निर्णय गरेको हो।
मसालले नेकपाभित्रको अन्तरकलहलाई विभिन्न देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुले आफ्ना स्वार्थपूर्तीका लागि लगातार प्रयास गरिरहेको तर्फ पनि ध्यानाकर्षण गराएको छ।
‘अहिलेको संसदको विघटन मूल रुपमा नेकपाभित्रको अन्तरकलहको परिणाम हो’ महामन्त्री मोहनविक्रम सिंहद्वारा सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘तर त्यो अन्तरकलह वा अहिले त्यसमा देखा परेको विस्फोटका पछाडि नेपाललाई आफ्ना साम्राज्यवादी स्वार्थका पक्षमा उपयोग गर्ने साम्राज्यवादी शक्तिहरुको षडयन्त्रले पनि एक वा अर्काे प्रकारले काम गरेको सम्भावनालाई अस्वीकार गर्न सकिन्न।’
नेकपा (मसाल) ले आधारभूत रुपमा विद्यमान संसदीय वा वहुदलीय व्यवस्थालाई प्रतिक्रियावादी व्यवस्था भन्दै त्यसका ठाउँमा नयाँ जनवादी गणतन्त्रको स्थापना गर्न जोड दिएको छ।
‘तर त्यो रणनीतिक उद्देश्यका पुरा गर्नका लागि र तात्कालिक रुपमा परिस्थिति तयार पार्नको लागि प्रयत्न गर्दै जानुका साथै तात्कालिक र कार्यनीतिक रुपमा विद्यमान गणतन्त्र वा वहुदलीय व्यवस्थाको रक्षाका लागि संघर्ष गर्नु पनि हाम्रो दायित्व हुन जान्छ’ मसालले भनेको छ।
यस्तै, मसालले ओली सरकारलाई दिएको समर्थनलाई पनि फिर्ता लिने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया