प्रधानमन्त्री केपी शर्मा ओलीले सघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र समृद्ध बनाउने चरणमा रहेको भन्दै यसविरुद्ध चलमलाउन नखोज्न ‘सम्बद्ध’ सबैलाई ध्यानाकर्षण गराएका छन्।
त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
‘हिजो प्रणालीविरुद्ध गरिएका आन्दोलन र आज प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र आफ्ना समस्याहरू समाधान गराउने बाटो निश्चित रुपमा फरक हुनुपर्दछ’, समारोहलाई सम्बोधन गर्दै अन्तिमतिर ओलीले भने, ‘त्यसका लागि संवाद र सहकार्य हुन सक्छ। यस्ता गतिविधिहरू शान्तिपूर्ण हुनु पर्दछ। अन्य प्रकारका गतिविधिहरू किमार्थ स्वीकार्य हुन सक्दैनन्।’
उनको यो भनाइ देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र राजावादी तथा विप्लव नेकपातिर लक्षित छ।
उनले गणतन्त्रात्मक प्रणालीलाई संरक्षण गरी समृद्ध बनाउने र समृद्धिको बाटोमा देशलाई अघि बढाउन त्यसअनुसारको संविधान निर्माण गरेको बताए।
त्यस्तै उनले दीक्षान्त समोराहलाई सम्बोधन गर्दै त्रिविलाई गुणस्तरीय शिक्षाको माध्यमद्वारा सक्षम जनशक्ति तयार पार्ने कार्यमा निखार ल्याई विश्वमै अगुवा विश्वविद्यालय बन्ने सफलता मिलोस् भनी शुभकामना दिए।
प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरुले आफूलाई सचेत र इमानदार नागरिकका रुपमा स्थापित गर्दै राष्ट्रप्रतिको कर्तव्य जिम्मेवार भएर निभाउन आग्रह गरेका थिए।

प्रतिक्रिया