राजनीति


बालुवाटारमा ओलीपक्षीय नेताहरूको भेला हुँदै

बालुवाटारमा ओलीपक्षीय नेताहरूको भेला हुँदै

नेपालखबर
पुस ६, २०७७ सोमबार १:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन्। सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला बोलाइएको हो।

भेलामा सहभागिताका लागि ओलीले आफू पक्षीय सचिवालय सदस्य, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सांसदलाई खबर गरिएको स्रोतले जनाएको छ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गरेपछि मुलुक तरंगित भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी हुन्। पार्टीका सबै निकाय र संसदीय दलमासमेत अल्पमतमा पर्दै गएपछि उनले अठात प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ।

आइतबार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ। नेकपाले केन्द्रीय कमिटी बैठक पुस ७ गतेको लागि बोलाएको छ।

संवैधानिक कानुनका ज्ञाताहरुले भने संविधानले ओलीलाई संसद विघटनको अधिकार नदिएको बताइरहेका छन्। सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्ने उनीहरुको मत छ।

आइतबार नै संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन्। अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन्। उनीहरूले बहुमत प्राप्त सरकारले तीन वर्ष नबित्दै संसद् विघटन गर्नु संविधानविपरीत भएको जिकिर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad