राजनीति


संसद विघटनप्रति चिनियाँ विज्ञको टिप्पणी : नेपाल संविधान जारी हुनु अघिकै अवस्थामा पुग्यो

संसद विघटनप्रति चिनियाँ विज्ञको टिप्पणी : नेपाल संविधान जारी हुनु अघिकै अवस्थामा पुग्यो

चेतनाथ आचार्य
पुस ५, २०७७ आइतबार १५:२७,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेकोमा चिन्ता जनाउँदै चिनियाँ विज्ञहरूले नेपाल फेरि राजनीतिक अस्थिरतातिर लागेको धारणा व्यक्त गरेका छन्। 

लामो समयको राजनीतिक अस्थिरताबाट गुज्रिएको नेपालले नयाँ संविधान जारी गरेर तीन तहको निर्वाचन सफल रुपमा सम्पन्न गरेको र तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा चीनले उत्साहित हुँदै समर्थन गरेको थियो।

झन्डै दुई तिहाई बहुमत प्राप्त सरकार बनेपछि नेपाल राजनीतिक मुद्दा छोडेर आर्थिक मुद्दामा केन्द्रित हुने अपेक्षा चीनले राखेको थियो। बेइजिङको बलियो समर्थन प्राप्त भनिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हठात संसद विघटन गरेर वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेपछि अब नेपाल दुई दशक अगाडिकै जस्तो राजनीतिक दुस्चक्रमा फस्ने चिनियाँ विज्ञहरूले बताएका हुन्।

चीनको राज्यपरिषद अन्तर्गतको थिङ्क ट्याङ्क चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था (सीआईसीआईआर) को एसिया तथा ओसियानिक विभागका निर्देशक प्रोफेसर हु सिसेङले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबाट नेपालमा देखिएको नयाँ संकटले आफू एकदमै निरास भएको बताए।

संसद विघटन गर्ने घटनाले नेपाललाई अस्थिर बनाउन चाहने शक्तिलाई प्रेरणा मिलेको र आर्थिक विकास पछाडि धकेलिएको हुले नेपालखबरलाई बताए। यसअघि नेपाल राजनीतिक स्थिरतामा हिँडेको देख्ता आफू आशावादी रहेको तर यो घटनाले आफू अत्यन्त निरास भएको उनले सुनाए।

‘नेपालमा नयाँ संविधान जारी भएपछि तीन तहको निर्वाचन सम्पन्न भएर पाँच वर्षका लागि बहुमतको सरकार बनेको कुरा यति चाँडै भत्कन्छ भनेर कसैले सोचेकै थिएन’, प्रोफेसर हुले नेपालखबरसँग भने, ‘नयाँ संविधान जारी हुनुभन्दा पहिलेको अवस्था र संसद विघटन भएपछि अहिलेको अवस्थामा तात्विक भिन्नता देखिँदैन। यो अत्यन्त दुःखलाग्दो कुरा हो र नेपालको भविष्य के हुने हो भन्ने कुराले मलाई चिन्तित बनाएको छ।’

‘नेपालमा कस्तो खालको राजनीतिक प्रणाली चाहिँ उपयुक्त हुन्छ?’ प्रश्न गर्दै हुले भने, ‘नेपालका राजनीतिक नेताहरुले जनताको रुचिलाई वास्ता नगरी आफ्नो मात्र रुचि र स्वार्थ बोकेर हिँडेको कुरा यो घटनाले पुष्टि गर्छ।’

गत वर्ष राष्ट्रपति सी चिनफिङको भ्रमणअघि पनि नेपाल आएका प्रोफेसर हु नेपाली नेताहरूबीच निकै परिचित छन्। फेरि पनि नेपाल र नेपालीको खुशी र सुखका लागि नेपालका राजनीतिक नेता र पार्टीहरुले सोच्नुपर्ने सुझाव उनले दिए।

पेकिङ विश्वविद्यालयकी अन्तर्राष्ट्रिय मामिला विज्ञ प्रोफेसर हान ह्वाले विगत दुई वर्षमा कुनै राजनीतिक अवरोध नभएकाले नेपालको आर्थिक वृद्धि राम्रो भएको र विदेशी लगानी पनि प्रचुर रुपमा बढेको स्मरण गर्दै संसद विघटन गर्ने घटनाले विकासलाई पछाडि धकेल्ने बताइन्।

‘कोरोना महामारीको समयमा एकाताबद्ध भएर काम गर्नुपर्ने बेलामा नेपालका राजनीतिक नेताहरु विभाजित हुनु र आर्थिक एजेन्डालाई बिर्सिएर फेरि राजनीतिक मुद्दामै अल्झिनु अवस्य पनि दुःखदायी कुरा हो’, उनले भनिन्।

चीनको सिचुवान प्रान्तस्थित सिचुवान अन्तर्राष्ट्रिय अध्ययन विश्वविद्यालमा स्थापित छन्दू इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्स अर्थात छन्दु विश्व सम्बन्ध संस्थाका अध्यक्ष डा लोङ सिङछुनले ‘नेपालका नेताहरुले आफ्नै खुट्टामा बन्चरो हानेको’ प्रतिक्रिया दिए।

चीन र दक्षिण एसिया सम्बन्ध तथा राजनीतिक मामिलामा अनुसन्धान गर्दै आएका डा लोङ चीनका लागि नेपाल, भारत र श्रीलंका विज्ञका रुपमा चिनिन्छन्।

नेपालखबरसँग टेलिफोनमा कुरा गर्दै उनले नेपालमा आइतबार भएको संसद विघटनको घटनालाई ‘सिरियस् सेटब्याक’ भने।

नेपालमा चाँडो चाँडो सरकार परिवर्तन भएर विकास निर्माणका काम नगन्य हुने गरेको स्मरण गर्दै उनले भने, ‘जब दुई ठूला कम्युनिष्ट पार्टी एकीकरण भएर निर्वाचनमा पनि बहुमत ल्याएर सरकार बनाए, त्यो नेपाली जनताका लागि ठूलो खुशीको कुरा थियो। तर नेपालका कम्युनिष्ट नेताहरुले राजनीतिक स्थायित्वलाई संस्थागत गर्ने कुरामा पटक्कै ध्यान दिएनन्। उनीहरु आफ्नो स्वार्थमा मात्र टकराइरहे।’

नेकपाभित्रको विवादले निम्तिएको वर्तमान राजनीतिक संकटले नेपाली कांग्रेसलाई प्रत्यक्ष फाइदा पुग्ने लोङको निचोड छ।

नेपालमा कोभिड महामारीको अवस्था पनि विकराल बन्दै गइरहेको र यसले आर्थिक क्रियाकलाप ठप्प रहेको बेलाको यो राजनीतिक घटनाले अवस्था थप जटिल हुने र जनताले दुःख पाउने उनले औँल्याए। यस्तो राजनीतिक अस्थिरताले विदेशी लगानीलाई पनि प्रतिकूल असर गर्ने उनले सुनाए।

‘मलाई आशा छ, नेपालका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई छोडेर जनताको स्वार्थका लागि काम गर्नेछन् र देशको विकासमा केन्द्रित हुनेछन्’, लोङले थपे, ‘नेपालका नेताहरुले यसरी आफ्नै खुट्टामा बन्चरो हान्नु दुःखद कुरा हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad