राजनीति


प्रतिनिधिसभा बैठक साउन २० गतेसम्म स्थगित

प्रतिनिधिसभा बैठक साउन २० गतेसम्म स्थगित

नेपालखबर
साउन १६, २०७६ बिहिबार ९:२५,

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ।

संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आव्हान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाईएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सुचारू गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ–आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो।

सर्वदलीय छलफल निष्कर्षमा पुग्न नसकेपछि सचिवालयले सूचना टाँसेर ‘अवरुद्ध सदन सुचारु गर्न दलहरुबीच छलफल जारी रहेकाले बस्न नसक्ने हुँदा’ बैठक स्थगित गरिएको जनाएको छ।

बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजय कुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल, राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति थियो।

नेत्र विक्रम चन्द्र विप्लव समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन्। पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएको हो।

त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो।

बाढी पहिरो सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्नका लागि साउन ८ गतेको बैठक भने सुचारु गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .