सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।
पार्टीको विवादबीच प्रधानमन्त्रीले मंगलबार अध्यादेश ल्याएपछि तीब्ररुपमा राजनीतिक घट्नाक्रम बढिरहेका बेला नेम्वाङ प्रचण्ड निवास खुमलटार पुगेका हुन्।
‘पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल भयो, अध्यादेश ल्याएको विषयमा प्रचण्डले जिज्ञासा राख्नुभयो,’ नेम्वाङले नेपालखबरसँग भने, ‘यस विषयमा मलाई धेरै जानकारी छैन भनेँ।’
नेम्वाङले आफू खुमलटार जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको बताए ।
‘प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग आफू सबै विषयमा छलफल गर्न तयार रहेको सन्देश दिनुभएको छ,’ नेम्वाङले भने, ‘मैले त्यही कुरा कार्यकारी अध्यक्षलाई जानकारी गराएँ, पार्टीको सबै विषयमा राम्रोसँग छलफल गर्न तयार रहेको कुरा प्रधानमन्त्रीले बताउनुभएको छ।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र र सरकारमा समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर समेत विवाद थप चर्किएको छ।
कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले अध्यादेश तत्काल खारेज गर्न माग गरिरहेका बेला प्रचण्डलाई भेट्न प्रधानमन्त्री निकट नेता नेम्वाङ खुमलटार पुगेका हुन्।

प्रतिक्रिया