राजनीति


संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा सहभागी नहुने

संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा सहभागी नहुने

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार ३:४९,

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने भएका छन्। समन्वय अभाव, पर्याप्त गृहकार्य नभएको भन्दै मंगलबारको बैठकमा पनि उनले सहभागिता नजनाउने भएका हुन्। 

'व्यवस्थापिका आफैँमा सार्वभौम संस्था हो। बैठकका विषयमा समन्वयनको अभाव देखियो,' सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, 'त्यसैगरी गृहकार्य र पूर्वतयारी पनि कम छ।'

आइतबारकाे बैठकमा पनि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएनन्। जसले गर्दा गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको थियो।

देउवाका स्वकीय सचिव भानु देउवाले विपक्षी दलका नेताको बैठकमा सहभागिता रहने बताएका छन्।

सरकारविरुद्ध सोमबार सडक आन्दोलन रहेको भन्दै देउवाले आइतबारको बैठकमा सहभागी नहुने बताएका थिए। बैठकमा सहभागी नहुन देउवालाई पार्टीभित्रैबाट दबाब थियो।

पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच संघर्ष चर्किरहेका बेला त्यसको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि परेको हो। सभामुख नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डनिकट मानिन्छन्।

६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने व्यवस्था छ।

प्रतिनिधिसभाको उपसभामुख पद एक वर्षदेखि रिक्त रहेकाले पाँच सदस्यमध्ये एक जना मात्रै अनुपस्थित हुँदा गणपुरक संख्या नपुग्ने देखिन्छ।

संवैधानिक परिषद् ऐन २०६६ को दफा ६ को उपदफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरिएकाे छ।

‘अध्यक्ष र कम्तीमा चार अन्य सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ,’ ऐनमा भनिएको छ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था संविधानमा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त स्थानमा नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री ओलीले परिषद्को बैठक बोलाएका हुन्। अहिले अख्तियारलगायत विभिन्न आयोगमा प्रमुख तथा आयुक्त गरी ४५ पद रिक्त छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad