संवैधानिक परिषद्को बैठक मंसिर ३० गते (मंगलबार) बिहान ९ बजे बस्ने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा समेत अनुपस्थित भएपछि स्थगित भएको थियो।
सो बैठक बस्नका लागि आवश्यक गणपुरक संख्या नपुगेको प्रधानमन्त्री ओलीले बैठक स्थगित गरी अर्को बैठक मंगलबार बिहानका लागि बोलाएका हुन्।
‘आज प्रमुख प्रतिपक्षी दलका नेताले उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको छ, अब मंगलबार बिहान बसौं,’ प्रधानमन्त्रीले बैठकमा उपस्थित सदस्यलाई गराएको जानकारीबारे स्रोतले नेपालखबरसँग भन्यो।
सभामुख सापकोटा भने आफू संसद सचिवालयका पूर्वनिर्धारित् कार्यक्रममा व्यस्त भएको भनी अनुपस्थित रहेका थिए।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा संसदकै पूर्वनिर्धारित कार्यक्रमका कारण आइतबार बिहान संसद सचिवालयकै कार्यक्रममा व्यस्त रहेका थिए।
‘संघीय संसद सञ्चालन तथा व्यवस्थापन समितिको पूर्वनिर्धारित बैठक भएका कारण सभामुख संसदमै व्यस्त रहनुभयो,’ न्यौपानेले नेपालखबरसँग भने।
विपक्षी दल कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन सुरु गर्दैैछ।
६ सदस्यीय संवैधानिक परिषदमा अध्यक्षसहित ५ जना सदस्यको उपस्थिति हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभाको उपसभामुख पद एक वर्षदेखि रिक्त रहेकाले पाँचै जना सदस्यमध्ये एक जना मात्रै अनुपस्थित हुँदा गणपुरक संख्या नपुग्ने देखिन्छ।
संवैधानिक परिषद ऐन २०६६ को दफा ६ को उप–दफा ३ मा अध्यक्ष र अन्य चार सदस्यको उपस्थिति अनिवार्य गरेको छ।
‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ,’ ऐनमा भनिएको छ।
संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ।
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत बिभिन्न संवैधानिक आयोगहरुमा रिक्त रहेका पदहरुमा नियुक्तिका लागि सिफारिश गर्न परिषद्को बैठक बोलाएका हुन्।
अहिले अख्तियारलगायत बिभिन्न आयोगमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ जना पद रिक्त छन्।
पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच आन्तरिक संघर्ष चर्किरहेको बेला त्यसको प्रभाव समेत संवैधानिक परिषद् बैठकमा परेको हो।
सभामुख नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन्।
सापकोटा बैठकमा अनुपस्थित रहँदा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भने उपस्थित थिए।
Shares

प्रतिक्रिया