गत वर्षजस्तै यो वर्ष पनि उखु किसानहरुले आजदेखि आन्दोलन सुरु गरेका छन्।
महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाहरुबाट किसानहरु संघीय राजधानी आएर आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेका हुन्।
सरकारले चिनी उद्योगबाट किसानसँग उखु खरिदको बक्यौता भुक्तानी गराउने आश्वासन दिए पनि कार्यान्वयन नभएपछि किसानहरुले आन्दोलन सुरु गरेका हुन्।
सरकार र उखु किसानबीच गत वर्ष पुसमा भएको वार्तापछि किसानहरुको बैंक खातामा रकम भुक्तानी गर्ने सहमति भएको थियो ।
उक्त सहमति कार्यान्वयन नभएको बोधार्थ सरकारलाई पटक–पटक पठाउँदा पनि सुनुवाइ नभएको भन्दै किसानहरुले आजदेखि आन्दोलन सुरु गरेका हुन्।
उखु किसानहरुलाई चिनी मिलले ६४ करोड ५५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।
बक्यौता उठाइदिने वचनको साथ गत महिना मन्त्रालयले उद्योगी र किसानहरुलाई राखेर वार्ता गराएको थियो। तर उक्त वार्ताले कुनै परिणाम दिन नसकेपछि किसानहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका हुन्।
यो पनि –
पोहोरको सहमति कार्यान्वयन गर्न माग गर्दै माइतीघरमा उखु किसानको प्रदर्शन (फोटोफिचर)
कुन उद्योगको कति बक्यौता?
एभरेष्ट सुगर मिलले किसानलाई अझै ८ लाख २० हजार रुपैयाँ भुक्तानी दिएको छैन।
त्यस्तै, महालक्ष्मी सुगर मिलले २० लाख, अन्नपूर्ण सुगर एण्ड जनरल कम्पनीले १७ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, श्रीराम सुगर मिलले २६ करोड (कर्मचारीको तलब बक्यौता समेत) र लुम्बिनी सुगर मिलले किसानहरुको ८ करोड ४१ लाख रुपैयाँ तिरेको छैन।

प्रतिक्रिया