राजनीति


कमान सिंह लामाकी श्रीमती र हाइड्रो कम्पनी भन्छन् : आर्थिक मामिलामा नेकपा प्रवक्ता श्रेष्ठको कुनै संलग्नता छैन

कमान सिंह लामाकी श्रीमती र हाइड्रो कम्पनी भन्छन् : आर्थिक मामिलामा नेकपा प्रवक्ता श्रेष्ठको कुनै संलग्नता छैन

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार १७:३८,

सत्तारुढ दल नेकपाभित्र पार्टीको आन्तरिक विवाद चुलिएका बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई एउटा नीजि आर्थिक मामिलामा मुछ्ने प्रयास भएको छ।

भ्रष्टाचार विरोधी छवि बनाएका श्रेष्ठलाई पुराना कम्युनिष्ट नेता कमानसिंह लामाको नीजि आर्थिक लेनदेनमा जोड्ने प्रयास भएको हो।

कोरोना संक्रमित लामाको बिहीबार मृत्यु भएपछि यस विषय चर्चामा आएको छ।

लामाले ७ दिनअघि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र श्रीमतीको सम्बन्धबारे लामो स्टाटस लेखेका थिए। त्यसमा उनले आफ्नो नीजि कारोबारसम्बन्धी विवादमा नाम नलिइकन एकजना नेताको प्रसंग उल्लेख गरेका छन्।

यसैबीच, एउटा अडियो भिडियो सामग्री पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठले लामासँग सो विषयमा कुरा गरेको र तपाईंहरु आपसमा मिलेर जानुस् भनी सुझाव दिएको देखिन्छ।

सोही विषयलाई लिएर प्रवक्ता श्रेष्ठबारे टीका टिप्पणी भएपछि लामासँग आर्थिक लेनदेनमा संलग्न रहेको याम्बालिङ्ग हाइड्रो र लामाकी कान्छी श्रीमतीले शुक्रबार विज्ञप्ति नै प्रकाशित गरेका हुन्।

लामाकी श्रीमती इन्द्रमायाले त हाइड्रोमा आफ्नो बढी सेयर भएकैले आफ्नो र श्रीमानबीचको सम्बन्ध नै विग्रेको समेत उल्लेख गरेकी छिन्।

सार्वजनिक भएको अडियो/भिडियोमा पूर्वराजदूत कमानसिंह लामा र हाइड्रो व्यवसायीसमेत रहेकी श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्यवीच आर्थिक लेनदेनसम्बन्धी विवाद रहेको र सो विवाद मिलाउन नारायणकाजी श्रेष्ठले मध्यस्थता गर्न खोजेको सुनिन्छ।

कसरी जोडिए लामा हाइड्रोमा
लामाले ०६४/०६५ सालमा आफू अध्यक्ष रहेर श्रीमती समेतलाई सेयर सदस्य बनाई याम्बालिङ्ग हाइड्रो प्रालि कम्पनी स्थापना गरे।

सो कम्पनीले सिन्धुपाल्चोकमा रहेको याल्बालिङ खोलाबाट ७ मेगावाटको बिजुली निकाल्न प्रोजेक्टको लाइसेन्स पाएको याम्बालिङ हाइड्रोले विद्युत विकास विभागबाट ०७३ पुस ६ गते विद्युत उत्पादन अनुमति पत्र पायो।

त्यसअघि ०७२ पुस २९ गते नै विद्युत प्राधिकरण र लामाको कम्पनीवीच विद्युत खरीद सम्झौतासमेत भइसकेको थियो।

तर, कानूनले तोकेको समयमा लामाको कम्पनीले विद्युत उत्पादन प्रक्रिया अगाडि बढाउन सकेन र उनी ऋणमा डुबे।

त्यसपछि सरकारले उनको लाइसेन्स रद्द गर्ने प्रक्रिया थालेको कमानसिंह लामाकी श्रीमती इन्द्रमाया तामाङले विज्ञप्तीमा उल्लेख गरेकी छिन्।

‘सो हाइड्रो सञ्चालनका लागि १० वर्षदेखि हाम्रो चलअचल सम्पति, आफन्त इष्टमित्र, पार्टीका साथीहरुको समेत ऋण धन लिएर सञ्चालन गर्ने प्रयत्न ग¥यौं। तर, न हामीले हाइड्रो सञ्चालन गर्न सफल भयौं, न त साथीभाइको ऋण नै चुक्ता गर्न सक्यौं।’

उनले यो आर्थिक मामिलामा प्रवक्ता श्रेष्ठ पहिले र अहिले पनि संलग्न नरहेको स्पष्ट पारेकी छन्।

यसरी ऋणमा डुबेपछि पति कमानसिंह र आफूले सुसन कर्माचार्यसँग हारगुहार गरेको इन्द्रमाया बताउँछिन्। उनका अनुसार हामी दुबैजना (कमानसिंह लामा र इन्द्रमाया तामाङ) को सहमतिमा हाम्रो केही सेयर रहने गरी सबै कानूनी प्रक्रिया पुर्याएर २०७५ साल फागुन २४ गते शुक्रबार कमानसिंह लामाको ऋणमा डुबेको कम्पनी सुसन कर्माचार्य अध्यक्ष रहेको मनीप्लान्ट इन्भेष्टमेन्ट प्रालिले लियो।

सुसनले जिम्मा लिनुभन्दा अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण गरेर कर लगायतका चुक्ता गर्नुपर्ने दायित्वहरु कमानसिंह लामाले चुक्ता गर्नुपर्ने भनिएको थियो। लामाले लिएका अन्य ऋणहरु पनि चुक्ता गरेर कम्पनी जिम्मा लगाउनुपर्ने करारनामामा भनिएको थियो। तर, लामाले ती दायित्वहरु पूरा गरेनन्।

ती दायित्व पूरा गर्ने उनीसँग रकम थिएन। त्यसपछि सुसनले याल्बालिङ हाइड्रोको बैंक ग्यारेन्टीमा लामाको जग्गा धितो राखेर २ करोड रुपैयाँ ऋण निकालिदिइन्। त्यसपछि लामाले आफ्नो व्यवहार सल्टाए।

यसो गर्दा फाइनान्सियल क्लोजर एवं कम्पनीको स्वामित्व हस्तान्तरणमा ढिलाइ भयो। पछि लामाले बैंकबाट निकालेको दुई करोडलाई ‘ऋणमा परिणत गरौं, त्यो म जे गर्ने हो गरौंला, मलाई २ करोड ५० लाख रुपैयाँ नगद चाहियो’ भनी सुसनसँग माग गर्न थाले।

बैंकले त्यसलाई ऋणमा परिणत गर्न मानेन। लामाले भने बैंकको चुक्ता गरिदिएको बाहेक नै थप रकम मागेपछि दुईपक्षवीच विवाद भयो।

लामाले अदालतमा पनि मुद्दा हालेका थिए। एकदुईपटक प्रचण्डले पनि लामा र कर्माचार्यबीचको आर्थिक लेनदेनको विवाद मिलाउने प्रयास गरेका थिए।

यही आर्थिक विषयमा दुईपक्षबीच विवाद मिलाउन र सहमति कायम गरेर जान आफूले सुझाव मात्र दिएको नेकपाका प्रवक्ता श्रेष्ठले बताए।

‘भिडियो वा अडियो दुबैमा मैले आर्थिक विवाद दुबै पक्ष बसेर मिलाउनुहोस् भनेको छु, त्यहाँ विवाद मिलाउने प्रयासभन्दा बाहेक मैले गलत काम के गरेको छु र? त्यो त सुन्दा हेर्दा प्रष्ट देखिन्छ त’, श्रेष्ठले भने।

यसैबीच सुसनको नेतृत्वमा रहेको याल्बालिङ्ग हाइड्रो कम्पनीले पनि शुक्रबार विज्ञप्ति निकालेर यो विवादमा श्रेष्ठको संलग्नता नरहेको बताएको छ।

लामाकी श्रीमति इन्द्रमाया र सम्बन्धित कम्पनीले सो लेनदेनमा नेता श्रेष्ठको कुनै संलग्नता नभएको भने पनि नेकपाकै नेताहरु भन त्यस मामिलामा श्रेष्ठलाई जोडेर टिप्पणी गरिरहेका छन्।

अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत कार्यशैलीको पार्टीभित्र कडा विरोध गर्ने नेताहरुमध्ये श्रेष्ठ पनि एक हुन्। त्यसैले ओलीपक्षीय कार्यकर्ताहरुले उनलाई सो मामिलामा जोडेर टिप्पणी गरेको देखिन्छ।

त्यतिमात्र कतिपय त्यस्ता टिकाटिप्पणी गर्नेमा केहि वरिष्ठ नेताहरु समेत सहभागी भएका छन्।

नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले समेत त्यसबारे सामाजिक सञ्जालमै टिप्पणी गरेका छन्।

पोखरेलले बिहीबार बेलुका ८ बजेर २४ मिनेटमा लामाको निधनप्रति दुःख व्यक्त गर्दै एक ट्वीट गरेका थिए– 

‘कमरेड कमानसिंह लामा अब हामीविच रहनु भएन ! हार्दिक श्रद्धान्जली ! तर वहाँले आफूसम्वद्ध कम्युनिष्ट पार्टीलाई (अझ यसमा आवद्ध ‘कम्युनिष्ट आदर्श’ को कुरा गरेर नथाक्नेहरूका लागि चुनौतिपूर्ण प्रश्न गरेर जानुभएको छ। अलविदा कमरेड कमानसिंह लामा।’

पोखरेलले कम्युनिष्ट आदर्शको कुरा गरेर नथाक्ने भनेर कसलाई संकेत गरेका हुन्। खुलाएका छैनन् तर, बिहीबार नै श्रेष्ठ र लामाको आर्थिक विषयमै कुराकानी भएको अडियो/भिडियो सार्वजनिक भएको केहीबेरमै पोखरेलले सो ट्वीटमा त्यो कुरा उल्लेख गर्नुलाई नेकपाका नेताहरुले अनुचित भनी टिप्पणी गरेका छन्।

नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा सो विषयबारे टिप्पणी गरेका छन्।

‘नारायणकाजी श्रेष्ठसँग जे कुरामा रिस उठेको छ, त्यसैमा आलोचना गरे भइहाल्छ, कसैले रोकेको छैन। नेकपामा माथिल्लै तहबाट नेताहरूको नामै तोकेर गाली–गलौज गर्ने चलन चलेकै छ,’ रिजालले भनेका छन्, ‘तर, सार्वजनिक अडिओ–भिडिओ अनुसार उहाँले आफूनिकट दुई कार्यकर्ता (कमानसिंह र सुसन) बीचको सेयर विवाद सुल्झाउन खोजेको देखिन्छ, जुन कुनै अपराध नभएर अभिभावकीय जिम्मेवारी हो। यसमा आपत्ति गर्नुपर्ने केही कारण छैन।’

रिजालले शाही शासनकालमा मण्डलेहरूले ‘पानी ट्यांकीमा पैसा राखेको’ कथा रचना गरेर नेतालाई बदनाम गरे जस्तो यतिवेला नेकपाकै कतिपय नेता–कार्यकर्ता यस्ता घृणित कार्यमा संलग्न भएको देख्दा आफूहरुले कस्तो संस्कृति विकास गर्न लागेको भनी प्रश्न उठाएका छन्।

‘यसबाट ‘हामी त बदनाम थियौं नै, नारायणकाजीलाई पनि ठीक भयो’ भन्ने सन्देश जादैन र?’ उनले प्रश्न गरेका छन्।

तुलनात्मक रूपमा सादगी र सरल नेता भनेर चिनिने श्रेष्ठले यस विषयमा हुने छानविन स्वीकार्य छ भनेको हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘पार्टीभित्र आवाज उठेकै छ– को नेता र तिनका छोराहरू के–केमा संलग्न छन्, हिम्मत भए आयोग गठन गरेर छानविन गरे भइहाल्छ,’ रिजालले भनेका छन्।

हेरौँ लामाकी पत्नी इन्द्रमाया तामाङ र याम्बालिङ हाइड्रोपावर कम्पनीले छुट्टाछुट्टै जारी गरेका वक्तव्यहरु:

KamanSingh-wife.jpg

Yambaling.jpg

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad