चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखिएको छ।
पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारको फ्ल्यागसिप कार्यक्रमको रुपमा लिइन्छ।
सोमबार राष्ट्रिय विकास समस्या समाधान उप–समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखाएको हो।
मंगलबारबाट सुरु भएको भर्चुअल समीक्षा बैठकमा भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको विवरणमा पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत रहेको छ। समग्रमा भने मन्त्रालयले वित्तीय प्रगति ४०.४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको जनाएको छ।
‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको सचिव रविन्द्र नाथ श्रेष्ठले प्रस्तुत गर्नुभयो’ समितिको प्रेस नोटमा भनिएको छ ‘जसअनुसार सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ।’
भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए। समितिको अध्यक्ष योजना आयोगका उपाध्यक्ष हुने गरेका छन्।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे (ऊर्जा), सिंचाई सचिव मधुसुदन अधिकारी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति गरेको जानकारी सचिव रेश्मीराज पाण्डेले दिए।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जातर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाईतर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरे।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार सो मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुरा भएको छ।
बैठक मंसिर २६ गतेसम्म सञ्चालन हुने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीले बताए।

प्रतिक्रिया