राजनीति


बुल्दीखोला पुल उद्घाटनपछि पौडेलले भने : विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ

बुल्दीखोला पुल उद्घाटनपछि पौडेलले भने : विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ

नेपालखबर
मंसिर १८, २०७७ बिहिबार १२:१९,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको बिहीबार उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले विकास निर्माणका लागि कांग्रेस सत्तामा नभए पनि प्रतिबद्ध रहेको जनाए। उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि संघर्ष गर्नुपर्नेमा पनि जोड दिए।

कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो। बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको आरोप पनि उनले लगाए।

 कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए। पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए।

केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए।

कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा कांग्रेस प्रतिबद्ध रहेको जनाए।

विसं २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो। तत्कालीन जिल्ला विकास समितिमार्फत रु दुई करोड ५४ लाखमा निर्माण भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए।

विगतमा पुल अभावमा कजवेबाट आवतजावत गर्नुपर्दा वर्षायाममा निकै सास्ती हुने गरेको स्मरण गर्दै अधिकारीले पुल निर्माणपछि सर्वसाधारणलाई राहत मिलेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad