राजनीति


माधव नेपाल भन्छन् : नेकपामा जारी आरोप–प्रत्यारोपको शृंखला ओलीबाटै सुरु भएको हो

माधव नेपाल भन्छन् : नेकपामा जारी आरोप–प्रत्यारोपको शृंखला ओलीबाटै सुरु भएको हो

नेपालखबर
मंसिर १३, २०७७ शनिबार १७:२४,

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले नेकपाभित्र जारी रहेको आरोप प्रत्यारोपको शृंखलाको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरेको बताएका छन्।

शनिबारको सचिवालय बैठकमा बोल्दै नेपालले प्रधानमन्त्री ओलीले सुरुमा बैठकको माग गर्ने सचिवलाय सदस्यविरुद्ध फायर खोलेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव आएको बताएका थिए।

‘सचिवालयको बैठक माग गर्नका लागि लेखेको पत्रको जवाफमा नेताहरुलाई लान्छना लगाउँदै १० पृष्ठको प्रतिउत्तर लेखेर प्रधानमन्त्रीले पहिले फायर खोल्नु भएको हो,’ नेता नेपाललाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘त्यतिबेला पार्टीको बैठक मात्र माग गरिएको थियो तर प्रधानमन्त्री भइसकेका नेताहरुको महत्वाकांक्षाले समस्या सिर्जना गरेको भनेर आरोप लगाउन कसले सुरु गरेको हो?’

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले बैठक राख्नका लागि सहमत हुन आग्रह गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई लिखित आग्रह गरेका थिए। वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक माग गरी ओलीलाई सो पत्र बुझाएका थिए।

सो पत्र बुझाइएपछि ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै १० पृष्ठ लामो पत्र लेखेका थिए।

त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई सात पृष्ठ लामो जवाफी पत्र लेखेका थिए। त्यसपछि प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९–पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गरेका थिए।

त्यसै श्रृंखलाको निरन्तरताका रुपमा शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको पछिल्लो राजनीतिक प्रस्तावको जवाफ दिदैँ अर्को प्रस्ताव प्रस्तुत गरेका हुन्।

पार्टी महाधिवेशनअघि सहमतिको आधारमा निर्णय गर्नुपर्ने र बहुमत तथा अल्पमतका आधारमा निर्णय गर्न नहुने भन्ने प्रधानमन्त्री ओलीको भनाइप्रति टिप्पणी गर्दै नेता नेपालले विगतमा आफ्नो सहमति नहुँदा नहुदै पनि नोट अफ डिसेन्ट लेख्दासमेत बहुमतको आधारमा निर्णय गरिएका प्रसंग स्मरण गराएका थिए।

‘यसअघि दुई अध्यक्ष मिलेर मेरो असहमति हुँदाहुँदै र मैले नोट अफ डिसेन्ट लेख्दालेख्दै पनि निर्णय भएको होइन र?’ नेता नेपालले भने, ‘सर्वसहमति राम्रो कुरा हो तर सहमति हुँदैन भने बहुमतबाट पनि निर्णय हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad