राजनीति


नेकपा चितवनले भन्यो : सुरेन्द्र पाण्डेविरुद्ध होहल्ला गर्नेलाई कारबाही हुन्छ

नेकपा चितवनले भन्यो : सुरेन्द्र पाण्डेविरुद्ध होहल्ला गर्नेलाई कारबाही हुन्छ

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ६:२६,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले राप्ती नगरपालिकामा शनिबार भएको घटनाको छानविन गर्ने बताएको छ।

पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्ने बताएको हो।

नेता पाण्डे कुनै गुटको कार्यक्रममा नभई पार्टीको आधिकारिक कार्यक्रममा सहभागी भएको विज्ञप्तिमा स्पष्ट पारिएको छ।

शनिबार बिहान चितवनको राप्ती नगरपालिकाको नगर कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी भएका नेता पाण्डेले बोल्ने क्रममा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट युवा तथा विद्यार्थी नेताहरुले नाराबाजी गर्नुका साथै हो–हल्ला गरेका थिए।

पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ।

‘पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ। मदन भण्डारी फाउन्डेसनका नाममा गुटका गतिविधि चलाइरहेकाहरुबाट नै सुनियोजित रुपमा घटना घटाइएको विज्ञप्तिमा उल्लेख छ।

नेकपा चितवनले यसखालका अराजक गतिविधिबाट प्रभावित नहुन आग्रह गर्दै घटनाबारे छानविनगरी संलग्नहरुलाई विधान बमोजिम कारबाही गरिने बताएको छ।

‘यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरु प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्त बमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरुलाई छानविन गरी पार्टी विधानबमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad