आफ्नै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य शीर्ष नेताहरुसँग विवाद बढेपछि चर्को दबाबमा परेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पूर्वएमाले नेताहरुसँग परामर्श बढाएका छन्।
पार्टी सचिवालयका बहुमत सदस्यको समर्थनमा प्रचण्डले ओलीप्रति आक्रामक प्रस्ताव पेस गरेलगत्तै उनले पार्टीका अन्य प्रमुख नेताहरुसँग आफूलाई सहयोग गर्न आग्रह गर्दै भेटघाट सुरु गरेका हुन्।
आइतबार बिहान पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा उपाध्यक्ष गौतमलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका प्रधानमन्त्री ओलीले अपरान्ह वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमति जुटाउने प्रयास गरेका थिए।
गाैतम र नेपाल दुवैसँग बालुवाटारमा भएकाे छुट्टाछुट्टै भेटमा महासचिव पौडेल साथमै थिए।
याे पनि: आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
‘अहिलेको संकट समाधान गर्न सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्रीले नेपाल र गौतम दुवै नेतासँगको भेट गर्नुभएको हो,’ दुबै भेटबारे जानकार एक नेताले नेपालखबरसँग बताए।
प्रचण्डबाट ‘अत्यन्त आक्रामक र गालिगलौजपूर्ण प्रस्ताव’ आएपछि उनीसँग तत्काल सहमति हुने संभावना नदेखेर ओलीले अन्य नेताहरुसँग कुराकानी बढाएको ती नेताको भनाइ छ।
स्रोतका अनुसार प्रधानमन्त्रीले वामदेव गौतमलाई सरकारमै सहभागी बनाउने गरी समर्थन प्राप्त गर्ने प्रयास गरेका छन्।
त्यसैगरी ओलीले नेपाल र गौतम दुवैकाे सहयोग प्राप्त गर्नका लागि आउने महाधिवेशनमा नेतृत्वबारे समझदारी गर्ने प्रस्तावका साथ कुराकानी अघि बढाएका छन्।
स्रोतका अनुसार महासचिव पौडेल कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि सम्पर्क र संवादमा छन्।
Shares
प्रतिक्रिया