राजनीति


कोरोनाको महामारीमा पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

कोरोनाको महामारीमा पनि सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ७:५१,

कोरोनाको महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको छ।

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले २०७७/०७८ को पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्रिय गौरवका ६ सहित अरु दुई ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष निकालेको हो।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सिँचाइका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव, जलश्रोत तथा सिंचाइ विभागका महानिर्देशक तथा आयोजना प्रमुखहरुसँग लगातार तीन दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए। त्यस क्रममा जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारी, विभागका महानिर्देशक मधुकरराज राजभण्डारी र आयोजना प्रमुखहरुले गौरवका सबै आयोजनाको अवस्थाबारे ब्रिफिङ गरेका थिए।

भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन, सिक्टा, रानी जमारा कुलरिया, बबई र महाकाली सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजना हुन्। यस्तै उपत्यकाको भूमिगत पानीको श्रोत रिचार्ज प्रणाली जोगाउने उद्देश्यले काठमाडौँको शिवपुरी राष्ट्रिय निकुञ्जमा निर्माणाधीन ढाप ड्यामको कामसमेत तीव्र गतिमा अघि बढेको छ। यस्तै तत्कालीन मध्य, पश्चिम र सूदुरपश्चिम प्रदेशमा विश्व बैंकको सहयोगमा यसअघि कार्यान्वयनमा रहेको सिँचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना न्यत्र पनि लागू गर्नेबारे समेत बैठकमा छलफल भएको थियो।

बैठकले विश्व बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी आयोजनाको मोडालिटी टुंगो लगाउने निर्णय गरेको छ।

सुनकोसी–मरिन डाइभर्सनबाट १ लाख २२ हजार हेक्टर, एउटै पकड क्षेत्र रहेको भेरी–बबई डाइभर्सन र बबई सिँचाइ आयोजनाबाट ५१ हजार हेक्टर, सक्टा सिँचाइ आयोजनाबाट ४२ हजार ७ सय हेक्टर, महाकाली सिँचाइ आयोजनाबाट ३५ हजार हेक्टर र रानी जमरा कुलरियाबाट २० हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। यस्तै भेरी–बबई डाइभर्सनबाट ४७ मेगावाट, सुनकोसी–मरिन डाइभर्सनबाट करिब ३० मेगावाट तथा रानी जमरा कुलरियाबाट ४.७ मेगावाट विद्युत उत्पादन हुनेछ। सिँचाइ र विद्युत उत्पादन सँगै हुने भएकाले ती आयोजनालाई बहुउद्देश्यीय भनिएको हो।

ढाप ड्याम निर्माणको काममा हालसम्म कूल ८० प्रतिशत, सिक्टामा ६० प्रतिशत, भेरी–बबईमा ४० प्रतिशत र बबइमा ४७ प्रतिशत काम सम्पन्न भइसकेको छ। गत वर्षबाट सुरु भएको सुनकोसी मरिन आयोजनाअन्तर्गत रामेछाप र सिन्धुली खण्डमा जग्गा अधिग्रहणको काम सकिएको छ । कतिपय स्थानमा मुअब्जा वितरणसमेत भएको छ। यस्तै चालु आर्थिक वर्ष २०७७÷०७८ मा मात्र राष्ट्रिय गौरवको आयोजनामा समाविष्ट भएको महाकारी सिंचाइ आयोजनाको कूलमध्ये १० प्रतिशत काम सम्पन्न भएको छ।

ती सबै आयोजनाको काममा मन्त्री पुनले प्रत्यक्ष अनुगमन र निर्देशनका साथै समस्या समाधानका लागि संघमा अन्तरमन्त्रालय, प्रदेश र स्थानीय सरकार तथा आयोजना प्रभावित समुदायसँग समन्वयको भूमिका निर्वाह गर्दै आएका छन्।

बैठकमा मन्त्री पुनले आयोजना निर्माणको काममा कुनै समस्या आए तत्काल सम्बोधन गर्न र समस्या समाधान गर्न असमर्थ भए आफुलाई जानकारी गराउन निर्देशन दिए। ‘समस्या आए पहिला आफ्नै तहबाट समाधान खोज्नुस्, सम्भव भएन भने मलाई भन्नुस्, जस्तोसुकै समस्या भए पनि राजनीतिक तहबाट तत्काल समाधान गरिन्छ’, उनले भने। समस्याको बहानामा विकासका काम रोक्ने वा ढिला सुस्ती गर्ने छुट भने कसैलाई नभएको उनको भनाइ थियो। मन्त्री पुनले बजेट र जनशक्तिको अभाव भए तत्काल समस्या समाधान गरिने पनि स्पष्ट गरे।

कोरोना महामारीको असहज अवस्थामासमेत आयोजनाका काम लक्ष्यअनुसार अघि बढेकामा विभाग र आयोजना प्रमुखसहित सबैलाई उनले धन्यवाद दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad