राजनीति


दिदीबहिनीको यो जब्बर जोडी : मायाको साथले कमला बनिन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति

दिदीबहिनीको यो जब्बर जोडी : मायाको साथले कमला बनिन् अमेरिकाको पहिलो महिला उपराष्ट्रपति

नेपालखबर
कात्तिक २३, २०७७ आइतबार ९:१,

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित हुँदा उनीसँगै कमला ह्यारिस उपराष्ट्रपति चुनिएकी छन्।

कमलालाई विश्वकै सबैभन्दा शक्तिशाली देश मानिने अमेरिकाको दोस्रो शक्तिशाली पदमा पुर्‍याउन सो अभियानको सुरुदेखि अन्तसम्म सघाउने एक प्रमुख व्यक्ति हुन् उनकै बहिनी माया।

कमलाले उम्मेदवारी दिएदेखि शनिबार उनको जित सुनिश्चित हुँदासम्म उनलाई मायाकाे निरन्तर साथ रह्याे।

आफ्नो चुनावी अभियानमा रातदिन खटिएर आफ्ना लागि ज्यान दिइरहेका मायाजस्ता निकै कटिबद्ध व्यक्तिहरुप्रति आफू धन्य रहेको कमला बताउँछिन्।

चुनावी अभियानमा मात्र नभई समग्र राजनीतिक यात्रामै पारिवारिक व्यक्तिहरुको साथ सहयोग र आड भरोसाको निकै महत्व रहने गर्छ, जुन अस्वभाविक होइन।

अमेरिकाका पूर्व राष्ट्रपतिहरु जोन एफ केनेडीलाई उनका भाइ बबी केनेडीको साथ, जर्ज डब्लू बुसलाई भाइ जेव बुसको साथ र दुवैलाई पिता जर्ज एच डब्लू बुसको साथका कारण उनीहरु अमेरिकी राजनीतिमा उदाएका थिए।

जसरी उनीहरुलाई भाइ र पिताले साथ दिए अहिले कमलालाई अमेरिकाको उपराष्ट्रपति बन्नका लागि बहिनी मायाले त्यसैगरी काँध थापेकी थिइन्।

कमलाको चुनावी अभियानको अध्यक्ष नै बनेर शनिबार उनलाई मुकामसम्मै पुर्‍याएकी छन् मायाले। यी दुई दिदीबहिनीको सम्बन्ध र संघर्ष निकै रोचक छ।

Kamala MayaChildhood 1बाल्यकालमा कमला र माया

दुई दिदीबहिनी–सँधै साथी
यूसी बर्कलेमा पीएचडी गर्नका लागि भारत छाडेर अमेरिका गएकी स्तन क्यान्सरकी अनुसन्धाता श्यामला गोपालन ह्यारिस र स्ट्यानफोर्डमा पढाउने जमैकन अर्थशास्त्री डोनाल्ड ह्यारिसका सन्तान हुन्, कमला र माया।

जनवरी ३०, १९६७ मा माया जन्मेको केहि वर्षपछि श्यामला र डोनाल्ड छुट्टिए। त्यसपछि कमला र मायालाई श्यामलाले एक्लै हुर्काइन्।

बर्कलेमा अधिकारकर्मीको रुपमा स्थापित हुँदै गरेकी श्यामलाले जुलुस तथा विरोध प्रदर्शनमा जाँदा पनि आफ्ना साना छोरीहरुलाई सँगै लैजान थालिन्।

‘मलाई आमाले गुडाएरै त्यस्ता जुलुसहरुमा लिएर जानुहुन्थ्यो र त्यसैले मैले अधिकारका लागि गरिने अभियानहरु बालककालदेखि नै अनुभूति गरेँ,’ कमला भन्छिन्, ‘कहिलेकाहिँ म ठट्टा गर्ने गर्छु, मलाई घेरेर पाका मान्छेहरुले यो जस्टिस (न्याय) भनेर किन चिच्याइरहेका छन्, के मागिरहेका छन् जस्तो लाग्थ्यो।’

त्यसैले गर्दा अधिकारका लागि लड्ने हुटहुटी कमला र मायाको रगतमै छ र अन्यायविरुद्धको आक्रोश उनीहरुको नसा नसामा दौडिरहेको हुन्छ।

बाल्यकालदेखि नै उनीहरुमा देखिएका लक्षणले धेरैलाई अचम्मित पार्ने गरेको थियो।

माया र कमला क्रमशः ८ र १० वर्षका हुँदा उनीहरु आफैंले एउटा काम थाले। उनीहरुले आफ्नो घरअगाडि प्रयोगविहीन भएको ठाउँ देखेपछि हामी यो ठाउँलाई खेल्नलायक एउटा राम्रो खेलमैदान बनाउँछौं भने र बनाइछाडे।

त्यसको केहि वर्षपछि श्यामलाले म्याकगिल युनिभर्सिटीमा जागिर पाइन्। त्यसका लागि तीनैजना मन्टरियल पुगे, जहाँ सबैजना फ्रेन्च भाषामात्र बोल्थे। भाषाका कारण अरुसँग घुलमिल हुन नपाएपछि दुई दिदीबहिनीबीच सम्बन्ध झनै गाढा भयो।

MayaHarris Reuter 1माया ह्यारिस।

स्थापित अधिकारकर्मी र पब्लिक पोलिसी वकिलको रुपमा स्ट्यानफोर्ड ल स्कुलबाट सन् १९९२ मा स्नातक सकेपछि मायाले कानुन पढाउन तथा अधिवक्ताको रुपमा अभ्यास गर्न थालिन्।

२९ वर्षकै उमेरमा लिंकल्न ल स्कुलको नेतृत्व सम्हाल्दा उनी मुलुककै सबैभन्दा कम उमेरकी ल स्कुल डिन बनिन्।

त्यसपछि उनी आमाकै पदचाप पछ्याउँदै अधिकारकर्मीको रुपमा स्थापित भइन्। अमेरिकामा अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुका बिभिन्न पदहरुमा रही उनले फौजदारी न्याय र समुदायमा नीतिगत बहस गरेर केहि दशक बिताइन्। सोहि विषयमा उनी लेखन तथा सम्पादनमा पनि सक्रिय रहिन्। 

हिलारी क्लिन्टनको चुनावी अभियानमा खटिइन्
हिलारी क्लिन्टन् राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि सन् २०१६ को अप्रिलमा नै हिलारीको टोलीले चुनावी अभियानका तीन सिनियर पोलिसी एडभाइजरमध्ये एकजनामा मायालाई रोज्यो।

क्लिन्टनको भित्रि सर्कलमा नरहेकी उनलाई छान्दा धेरैले अनौठो मानेका थिए। उनलाई क्लिन्टनले चिनेको केहि हप्ता मात्र भएको थियो। तर उनको क्षमता देखेर क्लिन्टन अभियानले उनलाई छाड्न चाहेन।

सो टिममा मायाले पनि तुरुन्तै आफ्नो छाप पारिन्। आप्रवासी, कठोर बन्दी जीवन बिताएका, महामारीमा परेका, शहरी लगानी र गर्भपतन लगायतका विषयमा उनले प्रभावकारी काम गरेर देखाइन्।

‘विषयहरुको पहिचान, तीनको समाधानका प्रस्ताव र योजनाहरु, र तीनको सटिक प्रस्तुति गर्ने मायाको क्षमताबाट क्लिन्टन निकै प्रभावित थिइन्,’ क्लिन्टन क्याम्पेइनका अध्यक्ष जोन पोडेस्टाले सम्झे।

त्यसो त उनले त्यसअघि पनि चुनावी अभियानहरुको नेतृत्व गरेको एक दशक भइसकेको थियो। सान फ्रान्सिस्कोमा दिदी कमला पहिलो महिला डिस्ट्रिक्ट एटोर्नी बन्दा त्यसअघि दुई कार्यकाल जितिसकेका टेरेन्स हेल्लिनलाई हराएकी थिइन्। त्यो नतिजा ल्याउनमा मायाको ठूलो भूमिका थियो।

उनलाई लुपस नामक रोग छ, जुन स्वास्थ्य समस्यासँग उनले तीन दशकदेखि संघर्ष गरिरहेकी छन्। त्यसका कारण उनलाई असैह्य रुपमा जोर्नी दुख्ने, बिभिन्न अंगहरुलाई क्षति पुर्‍याउने, निकै रौँ झर्ने, अत्यन्त थकान हुने जस्ता समस्या पर्छन्।

तर, यस्तो गम्भीर स्वास्थ्य समस्याका बाबजुद पनि उनी कमलाको चुनावी अभियानमा रातदिन खटिइन्।

मायाकी एउटी छोरी मीना र दुई नातिनी छन्।

सन् १९८४ मा सिनियर हाइस्कुल पढ्दापढ्दै उनले छोरी मीनालाई जन्म दिएकी हुन्।

‘म एउटा एकल किशोरी आमा भएर पनि बच्चा हुर्काउँदै अध्ययन जारी राखेँ। चाइल्डकेयरको सुविधा, मेरो कलेज र ट्युसन फी तिर्ने व्यवस्था नभएको भए त्यो संभव हुँदैनथ्यो,’ मायाले भनेकी छन्, ‘मेरा यस्ता आफ्नै अनुभूतिका कारण पनि मलाई अधिकारका क्षेत्रमा निरन्तर लागिरहन थप उर्जा पाइरहेँ।’

अहिले ३४ वर्षकी मीनाले पनि माया, कमला र श्यामलाकै पदचाप पछ्याउँदै छन्। स्ट्यानफोर्ड र हार्भर्डमा अध्ययन गरेकी मीना पनि आफ्ना दुई छोरी हुर्काउँदै नयाँ पुस्तालाई अधिकारबारे शिक्षित गर्ने अभियानमा छन्। गत जुनमा उनले ‘कमला एन्ड मायाज बिग आइडिया’ नामक पुस्तक प्रकाशित गरिन्।

कमलालाई मायाले अधिकारसम्बन्धी अभियान र राजनीतिक यात्रामा मात्र नभई व्यक्तिगत मामिलामा पनि उत्तिकै साथ सहयोग दिने गरेकी छन्। कतिसम्म भने दिदी कमलाको डगलस एम्हफसँग बिहेको चाँजोपाजो समेत बहिनी मायाले गरिदिएकी थिइन्।

अगस्त २२, २०१४ मा कमला र डगलसको बिहे हुँदा त्यसको सबै व्यवस्था मायाले गरेकी थिइन्।

दुई दिदीबहिनी बेलाबेला रमाइलो गर्न मन पराउँछन्। झट्ट हेर्दा काटिकुटी अनुहार नमिले पनि कमला र मायाको हाँसो भन्ने ठ्याक्कै उस्तै छ। –ओप्राम्याग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad