मुलुकमा ठूलास्तरका व्यावसायिक कृषि फार्ममा लगानी गर्ने योजना अगाडि बढाएको आईएमएस ग्रुपले मनाङमा स्याउ खेती गर्ने भएको छ।
नेपालको मनाङ, मुस्ताङ हिमाली जिल्लामा उत्पादन हुने स्याउ विश्वबजारमै लोकप्रिय छन्। स्थानीयसहित विश्व बजारमा समेत यी स्याउको माग उच्च भइरहेको बेला आईएमएस ग्रुपले लगानी गर्न लागेको हो।
मनाङको मर्स्याङ्दी खोला वरिपरिको ५ सय रोपनी क्षेत्रमा स्याउखोती गर्ने योजनासहित काम अगाडि बढिसकेको आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले नेपालखबरलाई जानकारी दिए। उनी दुई दिनअघि मनाङ पुगेर जग्गा छनोट गरेर आइसकेका छन्।
‘अस्ति हेलिकप्टरमा मनाङ गएर जग्गा हेरेर आएको छु’, मल्होत्राले भने, ‘त्यहाँ मर्स्याङ्दी खोलाको दायाँ र बायाँ जोड्दा झण्डै ५ सय रोपनी जग्गा पाएका छौँ।’
उक्त जग्गालाई ३० वर्षसम्मको लिजमा लिने सम्झौता गर्ने तयारी गरिरहेका छन्।
प्राविधिक काम सक्न मोटामोटी तीन महिना लाग्ने र त्यसपछि फिल्डको काम सुरु हुने मल्होत्राले बताए।
‘त्यहाँ कति उत्पादन हुन्छ।, लगानी कति गर्नुपर्ने भन्ने प्राविधिक कुराहरु हाम्रो विज्ञले निकाल्दै छन्’, उनले भने।
उनले स्थानीयसँगको सहकार्यमा स्याउ खेती गर्दै छन्।
त्यस क्षेत्रमा दुई किसिमको स्याउखेती हुन्छ। एउटा त्यहाँको स्थानीय परम्परागत स्याउ हुन्छ। जुन केही सानो हुन्छ। त्यसबाहेक व्यावसायिक रुपमा अन्य जातको फुजी स्याउजस्ता ठूलो आकारको स्याउ पनि उत्पादन हुन्छ। मल्होत्राले यही ठूलो स्याउ उत्पादन गर्दै छन्।
यस प्रकारको स्याउ मनाङमा व्यावसायिक रुपमा उत्पादन हुनथालिसकेको छ। केही स्थानीयहरु मिलेर एक हजार रोपनीमा स्याउ उत्पादन गर्न थालिसकेका छन्।
तीन हजार पाँच सयभन्दा धेरै उचाइमा रहेको उक्त क्षेत्रको हावापानी र उचाइले गर्दा स्याउको स्वाद नै बेग्लै किसिमको हुन्छ। बजारमा उच्च माग भएको र व्यावसायिक खेती गर्न सकिने भएकाले स्याउ खेतीमा लगानी गर्नलागेको मल्होत्राले बताए।
मल्होत्राले कृषि उत्पादन र वितरणमा लगानी गर्ने योजनासहित पूर्वबाट उत्पादन सुरु गरिसकेका छन्। उनीसँग पहिलेदेखि रहेको सुनसरीको अम्दुवा गाउँपालिका, सायरगन्जमा रहेको २५ बिघा जग्गामा कागतीका बिरुवा लगाइसकेका छन्।
उक्त ठाउँमा १२ हजार ५ सयभन्दा धेरै कागतीका बिरुवा, केही मेवा र स्ट्रबेरी लगाइसकेका छन्। यसलाई पाइलट प्रोजेक्टका रुपमा अगाडि बढाएको उनले बताए।
सातै प्रदेशमा ठूला प्रकृतिका कृषि फार्म र कोल्डस्टोर खोल्ने योजना बनाएका मल्होत्राले यसलाई केही परिवर्तन गरेर ‘सप्लाइ चेन’मा फोकस गर्ने गरी अगाडि बढेका छन्।
‘हामीले पहिले बनाएको योजन अनुसारको व्यावसायिक मोडललाई अलिकति परिवर्तन गर्दै छौँ’, मल्होत्राले भने, ‘अब सप्लाई चेनलाई बढी फोकस गर्ने कि भन्ने सोच छ।’
केही दिनमा यसको खाका तयार हुँदै छ।
नयाँ योजनाअनुसार मुलुकभरबाट कृषि उत्पादन किन्ने र काठमाडौंमा संकलन गरेर वितरण गर्ने गरी अगाडि बढेको उनले बताए। यसको लागि काठमाडौं संकलन केन्द्रको रुपमा कोल्डस्टोर बनाउँदै छन्।
यसअघि सातै प्रदेशमा ठूलास्तरका कृषि फार्म बनाउने योजना अगाडि सारेका थिए। त्यसरी धेरै ठाउँ गर्दा व्यवस्थापनमा समस्या हुने भएकाले कृषकलाई नै प्रोत्साहन गर्ने गरी उनीहरुका उत्पादन किन्ने गरी योजना बनाएको उनले बताए।
अहिलेसम्म कृषिमा सबैभन्दा ठूलो समस्या भनेको बिचौलियाले धेरै नाफा खाने र कृषक मारमा पर्ने छ। किसानले एक किलोमा बेचेको सामान बजारमा आउँदा सात रुपैयाँसम्म पुग्ने स्थिति छ।
यो समस्यालाई समाधान गर्ने गरी कृषि उपजको ‘सप्लाइ चेन’ मा फोकस गर्ने मल्होत्राको भनाइ छ।
‘हामीले किसानबाट सिधै खरिद गर्छौँ र बजारमा पठाउँछौँ’, मल्होत्राले भने, ‘बीचमा बिचौलियाहरु नभएपछि किसानलाई नाफा हुने र बजारमा पनि अहिलेभन्दा सस्तो सामान दिन सकिन्छ भन्ने लागेको छ।’
सातै प्रदेशमा आफ्नै कृषि फार्म नभए पनि पूर्वसहित केही ठाउँमा भने आफैँ गर्ने योजना उनको छ।

प्रतिक्रिया