अमेरिकामा राष्ट्रपति बन्नलाई ५३८ मध्ये २७० इलेक्टोरल कलेज भोटको आवश्यकता हुन्छ। बाइडेनको डेमोक्रेटिक पार्टीले २७० भन्दा बढी इलेक्टोरल भोट प्राप्त गरिसकेको छ।
सीएनएनका अनुसार आइतबारसम्म बाइडेनले २७९ इलेक्टोरल भोट प्राप्त गरिसक्दा ट्रम्पले २१४ इलेक्टोरल मत पाएका छन्।
धनाढ्य र शक्तिशाली प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई पराजित गरेका बाइडेनले राष्ट्रपतिको औपचारिककता पाउन सन् २०२१ को जनवरी २० सम्म कुर्नुपर्नेछ।
सत्ता हस्तान्तरणको यस अवधिलाई प्रेसिडेन्सिय ट्रान्जिसन भनिन्छ। जहाँ अब बाइडेनले राष्ट्रपति बन्न केही प्रक्रियालाई पार गर्नुपर्नेछ।
५३८ इलेक्टोरल भोटमध्ये बहुमत पाइसकेकाले डेमोक्रेटिक पार्टीका बाइडेन राष्ट्रपति र सोही पार्टीकी कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपति बन्ने निश्चित भइसकेको छ।
यद्यपी ५३८ इलेक्टरहरुले बाइडेन र ह्यारिसलाई फेरि मतदानमार्फत बहुमत दिएर डिसेम्बर १४ मा निर्वाचित गर्नुपर्ने प्रावधान छ।
इलेक्टरहरुले गरेको मतदान सन् २०२१ जनवरी ६ सम्ममा अमेरिकी संसदले गणना गरेर अमेरिकाको नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको घोषणा गर्नेछ।
त्यसपछि जनवरी २० मा राष्ट्रपति र उपराष्ट्रपति दुवैले शपथ ग्रहण गर्नेछन् र अमेरिकाले नयाँ सरकार पाउनेछ। एजेन्सी

प्रतिक्रिया