ad ad

राजनीति


यसकारण प्रचण्डले बोलाएको बैठकमा गएनन् थापा

यसकारण प्रचण्डले बोलाएको बैठकमा गएनन् थापा

सागर न्यौपाने
कात्तिक २१, २०७७ शुक्रबार १४:२,

सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सचिवालयको अनौपचारिक बैठक राखे। प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक राख्न अस्वीकार गरिरहेका बेला प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बैठक आयोजना गरेका थिए।

ओलीसँगको सहमतिमै अनौपचारिक बैठक राखिएपनि प्रधानमन्त्री ओलीसहित चार जना सचिवालयका नेता भने सो बैठकमा सहभागी भएनन्। ओलीनिकट भनेर चिनिएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले नजाने नै स्पष्ट पारेका थिए।

तर, गृहमन्त्री रामबहादुर थापा बैठकमा किन गएनन् भन्ने विषयमा भने अनेक अड्कलबाजी भएका छन्।

थापाले पार्टीभित्र निर्णायक अवस्था आइपरे प्रचण्डलाई साथ दिने बाचा गर्दै आएका थिए। के यतिबेला उनले प्रचण्डसँग दुरी बढेको सन्देश दिन खोजेका हुन्?

यसअघि गत आइतबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयको छलफलमा थापा उपस्थित थिए।

थापाका सल्लाहकार सूर्य सुवेदी पथिकले मन्त्रालयको कार्यव्यस्तताले उनी धुम्बाराहीको बैठकमा जान नपाएको दाबी गरे।

‘कार्यव्यस्तताले उहाँ कार्यकारी अध्यक्षले बोलाएको बैठकमा जान नपाउनुभएको हो,’ सुवेदीले नेपालखबरसँग भने, ‘बोलाएको ठाउँमा जाने हो, पार्टी फुट्नु हुँदैन भन्ने उहाँको प्रष्ट विचार छ, भदौ २६ को स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गरेर जानुपर्ने अडानमा उहाँ हुनुहुन्छ।’

बालुवाटार, खुमलटार, शीतलनिवास जताबाट बोलाएपनि थापा जाने गरेको उनले स्पष्ट पारे।

तर, प्रचण्डनिकट एक नेताका अनुसार धुम्बाराहीमा सचिवालय बैठक चलिरहेका बेला थापालाई महासचिव विष्णु पौडेलले सिंहदरबारमा रोकेका थिए।

उनले पौडेलकै कारण थापा बैठकमा उपस्थिति नभएको दाबी गरे।

‘बैठक सुरु भएपछि पार्टी कार्यालयबाट फोन पनि गरिएको थियो। तर, थापालाई महासचिवले अड्कादिएको जवाफ फोनमा आयो,’ ती नेताले भने, ‘अहिले महासचिव आएर छलफल गरिरहनुभएको छ। उहाँ बसिरहेका बेला आउन सम्भव छैन भनेर थापाको सचिवालयले जवाफ दियो।’

थापाका सल्लाहकार सुवेदीले पनि महासचिव पौडेलसँग उनको भेट भएको पुष्टि गरे।

‘मन्त्रालयसँग जोडिएका विषयमा छलफल भएको हो, गृह र अर्थबीच पहिलेदेखि मिलाउनुपर्ने विषय थियो त्यसमै कुरा भएको हो अरु केही होइन,’ उनले भने।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि केही साथीहरु कार्यव्यस्तताले बैठकमा आउन नसकेको सन्देश पाएको बताएका थिए।

प्रधानमन्त्री ओलीले भदौ २६ को स्थायी समिति बैठकका निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेपछि नेकपाको विवाद पुनः चर्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .