अमेरिकामा बिहीबारसम्म पनि राष्ट्रपतीय निर्वाचनको नतिजा आउन सकेको छैन। अझै केही राज्यमा मतगणना जारी छ। डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक छन्। तथापि उनको जित सुनिश्चित भइसकेको छैन।
नतिजा निर्भर रहेका चार राज्यमा मतगणनाको अवस्था यस्तो छः
एरिजोनाः करिब ८८ प्रतिशत मतगणना सकिएको यो राज्यमा बाइडेनले ६९ हजार मतको अग्रता लिएका छन्। धेरैजसो सञ्चारमाध्यमले यो राज्य बाइडेनले जित्ने प्रक्षेपण गरिसकेका छन्। तथापि अझै अझै २ लाख ७५ हजार मत गिन्ती गर्न बाँकी रहेको अधिकारीहरुले जनाएका छन्। यहाँ ११ इलेक्टोरल मत छ।
जर्जियाः १६ इलेक्टोरल मत रहेको जर्जियामा करिब ९८ प्रतिशत मतगणना भइसकेको छ। यहाँ ट्रम्पले झिनो अग्रता कायम गरेका छन्। ट्रम्पले ४९.६ प्रतिशत मत ल्याउँदा बाइडेनको मत ४९.२ प्रतिशत छ। यहाँ करिब ५० हजार मतगणना गर्न बाँकी छ। तर, ट्रम्प पक्षले मत पुनः गणना गराउने प्रयास गर्ने देखिएको छ।
नेभाडाः यो राज्यमा बाइडेनले ८ हजार मतको अग्रता लिएका छन्। ७५ प्रतिशत मतगणना भइसकेको छ। यो राज्यमा ६ इलेक्टोरल मत छ। निर्वाचन अधिकारीहरुले केही घण्टामा मतगणनाको अपडेट दिने जनाइएको छ।
पेन्सलभेनियाः यो राज्यमा करिब ७ लाख ५० हजार मत हुलाकबाट खसालिएको बताइएको छ। यहाँ करिब ९० प्रतिशत मतगणना हुँदा करिब डेढ लाख मतले ट्रम्प अगाडि छन्। तर, बाइडेनले दुरी कम गर्दै लगेका छन्। यहाँ २० इलेक्टोरल मत छ। एजेन्सी

प्रतिक्रिया