श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सोमबार सर्लाहीको हरिवन-११ निवासी टंकदेवी बुढाथोकीको हातबाट बडा दसैंको टीका ग्रहण गरेका छन्।
८२ वर्षीया बुढाथोकीको हातबाट टीका ग्रहण गर्दै मन्त्री यादवले आफूलाई आमा (टंकदेवी बुढाथोकी)को आशिर्वाद ठ्याक्कै लाग्ने गरेको बताए। टंकदेवी बुढाथोकी नेकपा सर्लाही जिल्ला कमिटीका सचिव कमल बुढाथोकीकी आमा हुन्।
टीका ग्रहण गर्दै गर्दा मन्त्री यादवले अढाई वर्ष अघिको परिस्थिति सम्झिए। त्यतिबेला उनी भर्खरै विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिबाट एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए।
‘त्यतिबेला चुनावमा टिकटको लागि तँछाडमछाड चलिरहेको थियो। आमाले मलाई टिकट प्राप्त होस् भनेर आशिर्वाद दिनुभयो। टिकट मैले नै पाएँ,’ मन्त्री यादवले भने, ‘चुनाव प्रचार-प्रसार सुरु गर्नुअघि फेरि आमासँग आशिर्वाद थाप्न आएँ। ‘चुनाव तपाइँले नै जित्नु हुन्छ, मेरो आशिर्वाद छ’ भन्नुभएको थियो। ठ्याक्कै त्यस्तै भयो, चुनाव मैले नै जितेँ।’
उनले सांसद बनेपछि आफू फेरि आमालाई भेट्न आएको स्मरण गरे। ‘सांसद भएपछि फेरि आमासँग आशिर्वाद थाप्न आएको थिएँ,’ मन्त्री यादवले भने, ‘त्यतिबेला आमाले फेरि मलाई मन्त्री बन्न आशिर्वाद दिनुभयो। अहिले मन्त्रीकै हैसियतमा यहाँ उपस्थित हुन पाएको छु।’
उनले मन्त्री बनेपछि आफूले धेरै महत्वपूर्ण काम नगरे पनि गलत काम नगरेको दाबी गरे। आगामी चुनावमा सर्लाहीका २० वटै स्थानीय तहसँगै प्रदेश र संघका सबै सिट नेकपाका उम्मेदवारले जित्ने गरी जिल्लामा विकास निर्माणका काम अघि बढाउने उद्घोषसमेत यादवले गरे।
बडा दसैको अवसरमा नेकपाका जिल्ला कमिटी सचिव कमल बुढाथोकीले आफ्नै घरमा शुभकामना आदान प्रदान तथा ‘दसैं भोज’ कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा नेकपा सर्लाहीका नेता र अगुवा कार्यकर्ता गरी झण्डै दुई सयको सहभागिता थियो। सहभागी अधिकांश मधेशी समुदायका थिए।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रवीन्द्र बैठा, नेताहरु शिवपूजन राय, अन्जु बैठा, शम्भु पासवान, वरहथवा नगरपालिकाका मेयर देवानन्द महतो लगायतको सहभागिता थियो।
नेता बुढाथोकीले मधेशी र पहाडिया समुदायबीच सामाजिक र सांस्कृतिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

प्रतिक्रिया