ad ad

राजनीति


नयाँ मन्त्री नियुक्ति र हेरफेर सहमतिमा नभएको प्रचण्डको भनाइ

नयाँ मन्त्री नियुक्ति र हेरफेर सहमतिमा नभएको प्रचण्डको भनाइ

नेपालखबर
असोज २८, २०७७ बुधबार १३:३४,

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहमतिबिना नै मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

प्रधानमन्त्री ओलीले रिक्त अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याएका छन्।

महिला मन्त्रालयमा रहेका पार्वत गुरुङ्गलाई रिक्त रहेको सूचना तथा सञ्चार मन्त्रालयको नेतृत्व दिएका छन्।

तर मन्त्रालय र मन्त्री तोक्ने यी विषयमा आफूसँग कुनै सहमति नभएको पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको भनाइ छ।

‘मसँग कुनै सहमति लिइएको छैन,’ नेकपाका सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै नेपालखबरसँग भने।

प्रधानमन्त्री ओली र प्रचण्डबीच आज बुधबार पनि बालुवाटारमा साढे दुई घण्टा छलफल भएको थियो। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएपनि कुनै सहमति नभएको ती नेताले बताए।

प्रधानमन्त्री ओलीले भने प्रचण्डसँग अर्थमन्त्री नहुँदा सरकार सञ्चालनमै अप्ठेरो परेको भन्दै तत्काल मन्त्रीहरू थप्नु पर्ने बताएका थिए।

‘अर्थमन्त्री नहुँदा सरकार सञ्चालनमै अप्ठेरो भइरहेको छ, खाली मन्त्रालयमा तत्काल मन्त्रीहरू नियुक्त गर्नु पर्ने अवस्था छ’, प्रचण्डलाई प्रधानमन्त्रीको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने।

‘आजका नियुक्ति उहाँसँग सहमतिमा गरिएको होइन रहेछ,’ पुनर्गठनबारे समाचार आउनासाथ प्रचण्डलाई सम्पर्क गरेका ती नेताले भने।

यसअघि प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमध्ये एकमा पुर्वमाओवादी पक्षलाई पनि समेट्ने वचन दिएका थिए।

रिक्त तीन मन्त्रालयमध्ये एकमा जनार्दन शर्मा नियुक्त हुने धेरैले अनुमान गरेका थिए। शर्माले गृह वा अर्थ मन्त्रालय आफूले पाउनुपर्ने दाबी राखेपछि प्रचण्डले प्रधानमन्त्री ओलीलाई यसको निर्णय गर्ने अधिकार दिएको बताइएको थियो।

पछिल्लो स्थायी समितिले गरेको निर्णयको स्प्रिटअनुसार पुनर्गठन भयो कि भएन भन्ने विषयमा अब छलफल हुने ती नेताले बताए।

‘अहिले दुई अध्यक्षबीच सहमति नभई तीन मन्त्री नियुक्त भएका छन्, यसबारेमा अब पार्टीको बैठकमा छलफल हुन्छ’, ती नेताले भने।

प्रधानमन्त्री ओलीले सचिवालय सदस्य ईश्वर पोखरेलले नेतृत्व गरिरहेको रक्षा मन्त्रालय खोसेर आफैं राखेका छन्। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी मामिला हेर्ने जिम्मेवारी दिइएको छ।

यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङ्गलाई सञ्चार मन्त्री बनाएर सो मन्त्रालयमा लीलानाथ श्रेष्ठलाई ल्याइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .