कर्णाली प्रदेशमा नेकपाका संसदीय दल नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको अविश्वासको प्रस्तावमाथि सो पार्टीको संसदीय दलमा कात्तिक ७ गते मात्र छलफल हुने भएको छ।
यसअघि हटाइएका सभामुखले भाेलि मंगलबारका लागि अविश्वास प्रस्तावमाथि छलफल ताेकेका थिए।
मुख्यमन्त्री शाहीले प्रमुख सचेतकलाई हटाएर उनको ठाउँमा नयाँ प्रमुख सचेतक नियुक्त गरेपछि सो मिति तोकिएको हो।
प्रमुख सचेतकको रुपमा नियुक्त भएकी सीताकुमारी नेपालीले अब कात्तिक ७ गते मात्र अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मिति तोकेको प्रदेश सभाका एक सांसदले बताए।
‘कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक आह्वान भएको छ,’ उनले भने।
आइतबर नेकपाका ३३ मध्ये १८ सांसदले संसदीय दलमा मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर शाहीमाथि अविश्वास प्रस्ताव दर्ता गराएका थिए।
त्यसलगत्तै प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार दिउँसो १ बजेका लागि दलको बैठक बोलाएका थिए।
आइतबार नै हटाइएका थिए प्रमुख सचेतक शाह
नेकपाको कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई मुख्यमन्त्री शाहीले आइतबार नै हटाएको स्रोतले जनाएको छ।
मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध आइतबार दिउँसो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि आइतबार साँझ नै मुख्यमन्त्रीले शाहलाई हटाएको मुख्यमन्त्री स्रोतले जनाएको हो।
‘उहाँलाई हिजै साँझ सचेतकबाट हटाइएको हो,’ स्रोतले भन्यो, ‘आज त सो निर्णय सार्वजनिक मात्र गरिएको हो।’
प्रमुख सचेतक शाहले मुख्यमन्त्रीसँग परामर्श नगरी संसदीय दलको बैठक बोलाएपछि शाहीले उनलाई हटाएका हुन्।
यसैबीच मुख्यमन्त्री शाहीले नयाँ घटनाक्रममा कसरी जाने भन्नेबारे अहिले मन्त्रीहरुसँग छलफल गरिरहेका छन्।
‘उहाँ अहिले केही मन्त्रीसँग छलफलमा हुनुहुन्छ,’ मुख्यमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘मन्त्रीहरुसँग छलफल गरेर माननीयहरुसँग छलफल गर्ने तय भएको छ, केन्द्रबाट आउनुभएका नेताहरुसँग पनि छलफल हुन्छ। उहाँ अविश्वासको प्रस्ताव फिर्ताकै प्रयासमा हुनुहुन्छ।’
याे पनि:
- कर्णालीका मुख्यमन्त्रीद्वारा सचेतक निष्काशित, नयाँ नियुक्त
- मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : भोलि संसदीय दल बैठक, त्यसअघि के के हुँदैछ?
- मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव फिर्ताका लागि निर्देशन दिन ओलीलाई प्रचण्डको आग्रह
- पूर्वएमाले एकढिक्का भएपछि तेस्रो प्रयासमा शाहीविरुद्ध अविश्वास प्रस्ताव

प्रतिक्रिया