समाज


सीसी क्यामेराको निगरानीमा लुम्बिनी क्षेत्र

सीसी क्यामेराको निगरानीमा लुम्बिनी क्षेत्र

प्रकाश न्यौपाने
असोज २६, २०७७ सोमबार १२:११,

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका महत्वपूर्ण क्षेत्रको सुरक्षार्थ सीसी क्यामेरा जडान गरिएको छ।

पवित्र उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामका विभिन्न ठाउँको सुरक्ष गर्न भन्दै सीसी क्यामेरा र पीटीजेड क्यामेरा जडान गरिएको हो। लुम्बिनी विकास कोषकाअनुसार लुम्बिनी उद्यानमा १७५ वटा सीसी क्यामेरा र २५ वटा पीटीजेड क्यामेरा जडान गरिएको छ।

पीटीजेड क्यामेराले टाढाको बस्तु फोकस र जुम गरेर नजिक हेर्न मिल्छ। यसअघि नै अति संवेदनशील ठाउँमा सीसी क्यामेरा जडान गरिएको भए पनि सबै महत्वपूर्ण स्थानमा भने क्यामेरा थिएन।

अहिले एकै ठाउँबाट कन्टोलिङ हुने गरी क्यामेरा जोडिएको हो। फाइबर र वायरलेस माध्यमबाट सीसी क्यामेरा जडान गरि अब २४ सै घन्टा लुम्बिनी क्षेत्रको निगरानी गरिने छ। लुम्बिनी विकास कोषका सूचना प्रविधि इन्जिनियर दिवाकर गौतमले लुम्बिनी उद्यानभित्रको सुरक्षा अब डिजिटलाइज्ड भएको जनाए।

सबै सीसी क्यामेराको कन्ट्रोल विकास कोषमा राखिएको आइटी रुमले गरिरहेको हुन्छ। कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीहरुले क्यामेरा मार्फत मोनिटरमा लुम्बिनी क्षेत्रको गतिविधि नियाल्छन्।

‘हामीले लुम्बिनीका हरेक गतिविधि नियाल्छौं। कहाँ के हुन्छ, भए गरेका गतिविधी रेकर्ड गरेर राख्छौं। कुनै घटना घट्यो वा जोखिम क्षेत्र भएजस्तो लाग्यो भने तुरुन्तै सुरक्षाकर्मी परिचालनमा हुन्छ’, गौतमले भने।

लुम्बिनीमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र बीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन्।

यस्तै, लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ।
‘लुम्बिनीमा सशस्त्र प्रहरीको सुरक्षाकर्मी अझै थप गर्नु जरुरी छ। यो अति संवेदनशील ठाउँ हो । यहाँको सुरक्षा हरेक किसिमले मजबुत हुनुपर्छ’, कोषका मामु सदस्य सचिव ज्ञानिन राईले भने।

लुम्बिनीमा यति धेरै सुरक्षाकर्मी हुँदासमेत आपसी समन्वय नहुँदा बेलाबखत समस्या आउने गरेको छ। कामु सदस्य सचिव राईले लुम्बिनी पूर्णतया डिजिटल सुरक्षा प्रणालीभित्र भएको बताउँदै तथापी सुरक्षाकर्मी पनि उत्तिकै आवश्यक रहेको जनाए।

‘हामी हरेक सेकेन्डका गतिविधीको निगरानी गर्नेगरी सुरक्षा व्यवस्था मजबुत गराएका छौं। निगरानीमा रहेको सुरक्षालाई थप मजबुत पार्नुपर्ने हुन्छ’, राईले भने।

प्रोक्योरमेन्ट अफ ट्रान्समिसन ब्याकबोन एन्ड आईटि इन्सफ्राक्टक्चर परियोजना अन्तर्गत सीसी क्यामेरा जडान भएको हो। कन्ट्रोल रूममा १२ वटा टिभी स्क्रिन छन्। ती स्क्रिनमार्फत् लुम्बिनी क्षेत्रको निगरानी गरिएको हो।

आर्थिक वर्ष ०७४/०७५ मा सीसी क्यामेरा जडानको काम शुरु भएको हो। दुई वर्ष लगाएर वेभस–म्याक्स जेभिले क्यामेरा जडानको काम सम्पन्न गरेको छ। परियोजना अन्तर्गत अप्टिकल फाईभर बिछ्याउने, सर्बलियन प्रणाली, डाटा सेन्टर स्थापना, वायरलेश नेटवर्ट, सोलार ब्याकअप, डिजिटल साईनबोर्ड छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad