राजनीति


काठमाडौँको संक्रमण नियन्त्रणउन्मुख देखिएन, उच्च सतर्कता अपनाऔं : मन्त्री ज्ञवाली

काठमाडौँको संक्रमण नियन्त्रणउन्मुख देखिएन, उच्च सतर्कता अपनाऔं : मन्त्री ज्ञवाली

नेपालखबर
असोज २१, २०७७ बुधबार ७:१८,

सरकारले काठमाडौँमा कोरोना संक्रमणको जोखिम उच्च रहेको बताउँदै उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रबार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले देशका अन्य भागमा कोरोना प्रकोप नियन्त्रण हुँदै गए पनि उपत्यका उच्च जोखिममा रहेको बताए।

दैनिक थपिने संक्रमितमा आधाभन्दा बढी उपत्यकाका रहेको बताउँदै उनले उच्च सतर्कत अपनाउन आग्रह गरेका हुन्।

 ‘अरु जिल्लाहरूमा कोरोनाको प्रकोप बिस्तारै नियन्त्रणउन्मुख हुँदै गएको भए पनि काठमाडौं उपत्यका जोखिममा छ। हाल प्रत्येक दिन देखिने आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्’, उनले भने, ‘हाल त्यो संक्रमण नियन्त्रणउनमुख नभएको हुँदा काठमाडौँबासीले धेरै सतर्कता अपनाउन जरुरी छ।’

मन्त्री ज्ञवालीले ४० लाख भन्दा बढी जनसंख्या रहेको उपत्यकामा संक्रमण अनियन्त्रित भयो भने थप जोखिम बढ्ने बताए।

‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ’, उनले भने, ‘त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी छ।’

मन्त्री ज्ञवालीले दशैँ, तिहार, छठ लगायतका ठूला चाडबाड नजिकिँदै गरेका कारण पनि विशेष सतर्कता उपनाउन आग्रह गरे। कोरोनाका कारण जेष्ठ नागरिक उच्च जोखिममा रहेको भन्दै उनले चाडबाडमा विशेष ख्याल गर्नुपर्ने बताए।

‘चाडबाड नजिक आउँदै छ। दसैं नजिक छ’, उनले भने, ‘हाम्रो विशेष आग्रह छ, हामी स्वस्थ रह्यौं भने फेरि पनि चाडबाड मनाउन सक्छौं।’

 काठमाडौंबाट चाडपर्व मनाउन गाउँ जाने र त्यसपछि फेरि काठमाडौं फर्कने गर्दा कोरोना संक्रमण पनि ओहोरदोहोर हुने सम्भावना बढी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad