बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषदको पहिलो बैठकमा युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतका विषयमा छलफल गरिने बताएका छन्।
प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी तनाबलाई आगामी तीन महिनाभित्र समाधान गर्नुपर्ने चुनौती रहेको बताउँदै आफू ब्रेक्जिटको विषयलाई लम्ब्याउने पक्षमा नरहेको स्पष्ट पारे।
एएफपीका अनुसार बुधबार प्रधानमन्त्री पदको सपथ लिएका जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषदमा रहेका आधाभन्दा बढी मन्त्रीलाई हटाएका छन्।
उनले युरोपेली संघ (इयू) बाट बेलायत बाहिरिनु पर्छ भनेर अभियान चलाउने नेताहरूलाई आफ्नो मन्त्रिमण्डलमा मुख्य जिम्मेवारी दिएको जनाइएको छ। जोन्सनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना बेलायती नागरिक पनि रहेका छन्।
प्रधानमन्त्री जोन्सनले पूर्व प्रधानमन्त्री थेरेसा मेको सरकारका गृहमन्त्री साजिद जावेदलाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन्। ब्रेक्जिटका कट्टर समर्थक डोमिनिक राबलाई जोन्समनले विदेशमन्त्री बनाएका छन्।
बेलायती महारानीसँग प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री निवास टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै उनले भने – ब्रेक्जिटका विषयमा ‘तर र यदि’ जस्ता शब्दहरु अब लाग्दैनन्। हामी युरोपेली संघबाट बिदा हुन्छौं।

प्रतिक्रिया