राजनीति


बालेनबारे ठाकुरको टिप्पणी- नेपाली हिटलर भइसकेको छ

बालेनबारे ठाकुरको टिप्पणी- नेपाली हिटलर भइसकेको छ

नेपालखबर
असार ३१, २०८३ बुधबार १५:४७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति आपत्ति जनाउँदै ‘नेपाली हिटलर’को रुपमा टिप्पणी गरेका छन्। 

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद ठाकुरले सरकारले दिएका आश्वासन पूरा नहुँदा जनतामा निराशा छाएको बताए। ‘बालेन सरकारले दिएका आश्वासनहरू पूरा नहुँदा देशमा निराशा छाएको छ र आत्महत्याका घटनाहरू बढ्दै गएका छन्,’ ठाकुरले भने। 

सरकारका क्रियाकलापले व्यवसायी पलायन हुँदै गएको उल्लेख गर्दै यसले अर्थतन्त्र कमजोर हुने बताएका छन्। ‘दलका नेताहरू असुरक्षित महसुस गरिरहेका छन् भने व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेका छन्। यसले नेपालको आर्थिक अवस्थालाई थप कमजोर बनाउँदै लगेको छ,’ उनले भने। 

यस्तै, सरकारका कामकारबाहीले शिक्षा र स्वास्थ्य क्षेत्र पनि अप्ठ्यारोमा परिरहेको उल्लेख गरे। निजी क्षेत्रलाई पनि सँगसँगै लग्नुपर्नेमा जोड दिए। तर, सरकार उल्टो बाटो हिडेको उनको भनाइ थियो। 

‘सरकारको भरमा मात्र शिक्षा र स्वास्थ्य चल्न सक्दैन। नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ,’ उनले भने।

ट्रेड युनियन र विद्यार्थी संगठन खारेजको पनि उनले विरोध गरे। ‘यो सरकारले ट्रेड युनियन, विद्यार्थी सङ्गठनलाई खारेज गरेको छ। यस किसिमले प्रत्येक संस्था जो अर्गनाइज संस्था छ, त्यो अर्गनाइजेसनलाई त उनले हेर्नै चाहँदैन,’ ठाकुरले प्रश्न गरे, ‘अर्गनाइजेसनलाई आक्रमण गरेर उनलाई खत्तम गरेर अब के गर्न खोजेको हो?’

अहिलेसम्म सरकार र प्रधानमन्त्री शाहका क्रियाकलाप तानाशाहतर्फ गइरहेको बताए। ‘नेपाली डिक्टेटर, नेपाली हिटलर। नेपाली हिटलर भइसकेको छ,’ ठाकुरले भने।

प्रधानमन्त्री शाहका क्रियाकलापले देशलाई धरासायी बनाउँदै लगेको उनको टिप्पणी थियो। ‘उनले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो। यसप्रकार चाहिँ देशलाई धरातलमा लागिरहेको छ,’ ठाकुरले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad