ad ad

राजनीति


हुम्लाको लाप्चामा ११ नम्बर पिलर भेटिएन, चीनसँग अब उच्च तहमै वार्ता हुने

हुम्लाको लाप्चामा ११ नम्बर पिलर भेटिएन, चीनसँग अब उच्च तहमै वार्ता हुने

उजिर कार्की
असोज ६, २०७७ मंगलबार ५:२३,

हुम्लामा नेपाली भूमि मिचेर ९ वटा भवन निर्माण गरिएको क्षेत्र चीनले आफ्नै भएको दाबी गरेको छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीको नेतृत्वमा गएको टोलीले नाम्खा गाउँपालिका ६ को लाप्चामा आइतबार चिनियाँ पक्षसँगको छलफलमा चीनले उक्त क्षेत्र आफ्नै भएको दाबी गरेको हो।

चीनले भवन निर्माण गरेको ललुङजमबाट कैलाश मानसरोवरको दूरदर्शन गर्न सकिन्छ।

त्योभन्दा करिव १ किलोमिटर वरसम्मको भूभागलाई चीनले आफ्नो जमिन भएको दाबी गरेको छ।

‘भवन बनाएको क्षेत्रदेखि एक किलोमिटर नेपालतिरसम्म चीनियाँ पक्षले आफ्नै भएको दाबी गरे, हामीले पहिलेदेखि नै यो क्षेत्र हामीले भोगचलन गर्दै आएको र १२ नम्बर पिलरअनुसार पनि यो क्षेत्र हाम्रै पर्छ भन्यौं’, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मंगलबार बिहान नेपालखबरसँग भने।

त्यस क्षेत्रमा नेपालले २०६६ सालमा सडक निर्माण समेत गरिसकेको छ।

तर ११ नम्बर पिलर नै नभेटिएका कारण कुन क्षेत्र कसको भन्ने एकिन गर्न नसकिएको हो। नेपालले अहिले चीनले भवन निर्माण गरेको भन्दा साढे २ किलोमिटर परसम्म सडक निर्माण गरेको छ। त्यसबेला चिनियाँ सेना साढे २ किलोमिटर परै बस्थे।

दुवै पक्षले नक्सासहित छलफल गरेका थिए।

‘चिनियाँ सेनाले नक्सा नै देखाएर त्यो भाग आफ्नो भएको दाबी गरेको थियो। नेपाली सेनाले पनि नक्सा देखाउँदै त्यो भाग हाम्रोमा पर्ने दाबी गरेको थियो। तर ११ नम्बर पिलर पत्ता नलागेसम्म प्रस्ट हुने अवस्था छैन’, अध्यक्ष तामाङले भने।

अब ११ नम्बर पिलर खोज्ने र चिनियाँ पक्षसँग छलफल गर्ने काम राज्यले नै नेतृत्व गनुपर्ने तामाङले बताए।

त्यस क्षेत्रमा सुरक्षाकर्मी रहने बीओपी (बोर्डर आउटपोस्ट) समेत स्थापना नगर्दा समस्या भएको भन्दै तत्काल बीओपी राख्न माग गरे ।

अनुगमनबाट फर्किएको टोलीले रिपोर्ट पठाउने र सरकारले अब उच्च तहमै यस विषयमा छलफल गर्ने तयारी गरेको छ।

नाम्खा गाउँपालिका ६ को ललुङजममा चीनले ९ वटा भवन बनाएको गत भदौमा पत्ता लागेको थियो। भदौ १५ गते सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालसहितको टोली त्यस क्षेत्रमा पुग्दा भवन निर्माण भएको देखेपछि सरकारले प्रमुख जिल्ला अधिकारी गिरीसहितको टोलीलाई अनुगमनमा पठाएको हो।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अनुुसन्धान विभाग र गाउँपालिकाका अध्यक्षसमेत सहभागी थिए।

शनिबार गएको टोली सोमबार फर्किएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .