अमेरिकी प्रशासनले आइतबारदेखि लागु हुनेगरी टिकटक र विच्याटको डाउनलोडमा बन्देज लगाएको छ।
यो नियम लागु भएपछि अमेरिकीहरुले चिनियाँ कम्पनीबाट सञ्चालित यी एपहरु डाउनलोड तथा अपडेट गर्न पाउने छैनन्।
यी एपको प्रयोगबाट अमेरिकी राष्ट्रिय सुरक्षामा चुनौति सिर्जना भएकाे भन्दै बन्देज लगाइएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
शुक्रबार घोषणा गरिएको यो बन्देजले नयाँ डाउनलोड र अपडेटलाई मात्र रोक लगाएको हुँदा यी कम्पनीलाई केहि राहत भने हुनेभएको छ। खासगरी टिकटकको माऊ कम्पनी बाइटडान्सले अमेरिकामा रहेको यसको कारोबारलाई अब के गर्ने भनी कुनै व्यवस्था गर्ने केहि समय पाउने भएको छ।
शुक्रबारको घोषणाले विच्याटलाई बढि अप्ठेरो पर्ने बताइएको छ।
अहिले कायम रहेका टिकटक प्रयोगकर्ताहरु नयाँ बन्देजका कारण नोभेम्बर १२ सम्म खासै प्रभावित हुनेछैनन्।
‘आधारभूत टिकटक चाहिँ नोभेम्बर १२ सम्म कायमै रहन्छ,’ अमेरिकी वाणिज्यमन्त्री विलवर रसले फक्स विजनेस नेटवर्कलाई बताएका छन्।
त्यसो त यसैबीचमा बाइटडान्सले ओरेकलसँग सम्झौता गरेर सुरक्षासम्बन्धी उठेका केहि विषय सम्बोधन गर्नसक्यो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारको घोषणालाई उल्ट्याउन सक्नेछन्।
चीनसँग व्यापार युद्ध चर्किदै गएपछि ट्रम्प प्रशासनले ‘केहि अविश्वासिला चिनियाँ एप्सहरुलाई’ अमेरिकाको डिजिटल नेटवर्कबाट हटाउने क्रम तिब्र पारेको छ।
विश्वभर एक अर्ब मानिसले प्रयोग गर्ने विच्याटमा बन्देज लगाएसँगै अब अमेरिकामा यसमार्फत् पैसा ट्रान्सफर गर्न मिल्नेछैन। प्रयोगकर्ताले आइतबारदेखि नै यसको सेवामा कटौति हुँदै गएको अनुभूति गर्नेछन्।

प्रतिक्रिया