विवेकशील नेपाली दलले सरकारले शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि चर्को दमन गरिरहेको भन्दै दमन बन्द गर्न माग गरेको छ।
संविधान दिवसको पुर्वसन्ध्यामा विचारको अभिव्यक्ति दिएकै भरमा हिरासतमा लिने, बाटोमा हिँड्दै गरेका नागरिकलाई निर्घात कुटपिट गर्ने, संविधानको बारे मिडियामा आफ्नो धारणा राख्दै गरेका नागरिकलाई लखेट्ने जस्ता क्रूरतापूर्वक दमन र मानवीय संवेदनाहीन व्यवहार गरिएको भन्दै विवेकशीलले आपत्ति जनाएको छ।
‘हालैका दिनमा सरकारले एक पछि अर्को जनभावना विपरीतका निर्णय गर्दै, नागरिकमाझबाट उपेक्षित अक्षमहरूलाई काखा र योग्य इमानदार जनसेवकलाई पाखा गर्दै राज्य संयन्त्र, संवैधानिक आयोग तथा संस्थानहरूमा विश्वाशपात्रहरुलाई नियुक्त गर्दै आएको छ’ शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कम्युनिष्ट सरकारको नियोजित र संगठित सर्वसत्तावादको अभ्यास हो भन्ने विवेकशील नेपाली दलको बुझाई छ।’
विवेकशीलले प्रहरी र प्रशासनका उच्च अधिकारीलाई आफ्नो विवेक नगुमाउन ध्यानाकर्षण गर्दै प्रश्न गरेको छ, ‘नागरिकको करबाट पालित पोषित राज्य संयन्त्र तथा प्रहरी प्रशासन नागरिकको सेवाको लागि गठन गरिएको हो नकि सत्ताको गुलामीका लागि?’

प्रतिक्रिया