सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनपछि एकल अध्यक्ष हुने कि दुई अध्यक्ष नै राख्ने भन्ने विषयमा पार्टीभित्र छलफल नै नभएको बताएका छन्।
नेता नेपालले कति अध्यक्ष राख्ने, उपाध्यक्ष राख्ने कि नराख्ने लगायतका विषयमा महाधिवेशनकै समयमा छलफल गरेर विधानमा टुंगो लगाउने बताएका छन्।
स्थायी समिति बैठकपछि दिएको एक अन्तर्वार्तामा महाधिवेशनपछि पार्टी एकल अध्यक्षमा जान्छ कि दुईवटै अध्यक्ष हुन्छ भन्ने प्रश्नमा नेता नेपालले त्यो विषयमा प्रवेश नै नगरेको र छलफल गर्न बाँकी नै रहेको बताए।
‘त्यो हामीले छलफल गर्नै बाँकी छ। त्यसमा हामी प्रवेश गरेका छैनौं। पार्टीभित्र उपाध्यक्ष राख्ने कि नराख्ने, राख्ने हो भने कतिवटा राख्ने, महासचिवको के हुन्छ, उपमहासचिव राख्ने कि नराख्ने, सचिवको के गर्ने भन्ने विषयमा छलफल नै भएको छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘यी सबै कुराको तय विधानले गर्ने भएका कारण हामीले महाधिवेशनको बेलामा विधानको बारेमा छलफल गरेर टुंगो लगाउँछौं।’
नेता नेपालले केन्द्रीय कमिटी, प्रदेश कमिटीको आकार कत्रो बनाउने, प्रदेश भित्रका कमिटीहरु, जिल्ला कमिटीको आकार कत्रो बनाउने, पार्टीको विभागहरुको संख्या कत्रो बनाउने, कतिवटा विभागहरु राख्ने भन्ने विषयमा त्यही बेला छलफल हुने बताए।
उनले महाधिवेशनमा नेतृत्वको दावी गर्ने कि नगर्ने भन्ने पिरलोमा आफू नरहेको प्रस्ट पारेका छन्। महाधिवेशनमा नेतृत्वमा यहाँको पनि दावी रहने चर्चा पनि चलेको छ नि? भन्ने प्रश्नको जवाफ दिँदै उनले कामको आवश्यकता, कार्यकर्ताको आग्रह र नेतृत्वबीचको सहमतिका आधारमा त्यसको टुंगो लाग्ने बताए।
‘नेतृत्वमा दावी गर्ने कि नगर्ने, यो पिरलो ममा छैन्। मेरो के हुने हो, बर्बाद पो हुने हो कि भन्ने कदको मन्छे होइन म’, उनले भने, ‘कामको आवश्यकताले मैले कहाँ जिम्मेवारी पाउने हुँ वा पार्टी कार्यकर्ताहरुले मलाई कुन हिसाबले भन्ने हुन त्यसको आधारमा र नेतृत्वको बीचमा कस्तो सहमति हुन्छ त्यसको आधारमा टुंगो लाग्छ।’
नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा तल्लो कमिटीसम्मै लागू गर्नुपर्ने बताए। एउटै व्यक्तिलाई धेरै भूमिका दिँदा त्यो प्रभावकारी नभएको भन्दै उनले कार्यकारी पद एकमात्रै हुनुपर्ने बताए।
‘एक व्यक्ति एक जिम्मेवारी भन्ने कुरा त तलसम्म लागू गर्नुपर्यो। नभए उही व्यक्ति मेयर छ र उही व्यक्ति त्यहाँको प्रमुख छ। उसलाई कामको जिम्मेवारी दिइएको छ अनि उसको कामको अनुगमन गर्ने ठाउँमा पनि आफैँ बसेको छ। अनुगमन पनि आफैँ गर्दैछ र लागू पनि’, नेता नेपालले भने, ‘त्यसमा चेक एन्ड ब्यालेन्सको सिस्टममा न जाने हो। कम्युनिस्ट पार्टीभित्र पनि चेक एन्ड ब्यालेन्सको सिस्टम हुनुपर्दछ।’
२०५१ मा आफू सरकारमा जाँदा उपमहासचिव पद सिर्जना गरेर संगठन चलाउने कामको जिम्मा दिएको उल्लेख गर्दै उनले अहिले नेकपामा दुई अध्यक्ष भएका कारण त्यो समस्या नआएको बताए। उनले नेकपामा तल–माथि धेरै अनुभव प्राप्त नेता भएका कारण जिम्मेवारी दिन कुनै समस्या नभएको प्रस्ट पारे।

प्रतिक्रिया