ad ad

राजनीति


राप्रपा अध्यक्ष थापालाई केन्द्रीय सदस्यको सुझाब : सिद्धान्तमा सम्झौता नगर्नोस्

राप्रपा अध्यक्ष थापालाई केन्द्रीय सदस्यको सुझाब : सिद्धान्तमा सम्झौता नगर्नोस्

नेपालखबर
भदौ २९, २०७७ सोमबार १२:२८,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाब दिएका छन्।

काठमाडौँ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरक्रियाको लागि अध्यक्ष थापाले सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए। भौतिक दूरी कायम राख्दै सञ्चालन गरिएको बैठकमा ७५ केन्द्रीय सदस्यहरु सहभागी थिए।

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए। राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अगाडि बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरुले राजनीतिमा प्राविधिक पक्षभन्दा सैद्धान्तिक पक्ष प्रवल हुने धारणा राखेका थिए।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दु राष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित संवद्धनवादको विचारलाई स्थापित गर्नको निमित्त सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याए।

राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफुले खेल्नु पर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठन केन्द्रित भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा सांगठनिक गतिविधि गर्न नेताहरुलाई आग्रह गरे।

मुलुकमा विकृति, विसंगति, भ्रष्टाचारले जनता वाक्क दिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजीमा जनता रहेकोले त्यो जनताले खोजेको विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो।

बैठकमा पार्टीका नेताहरु दीपक बोहोरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङदेन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्र बहादुर गुरुङ लगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

यसअघि जिल्लामा रहेका नेताहरुलाई भर्चुअल बैठक गरेका थापाले छलफल अन्तरक्रियालाई आगामी दिनमा पनि जारी राख्ने बर्तौलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .