भारतीय दूतावासले तराइका चार र एक पहाडी जिल्लामा वितरण गर्नका लागि टेन्ट तथा त्रिपाल प्रदान गरेको छ।
भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाद्वारा भारत सरकारका तर्फबाट प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।
टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ।
‘बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश २, वागमती प्रदेश, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिनेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई वितरण गरिएको हो।’
शनिबार चीनले पनि यस्तै आपतकालीन प्रयोगका लागि पाँच हजार थान टेन्ट प्रदान गरेको थियो।

प्रतिक्रिया