एकीकरण प्रक्रियामा गतिरोध सामना गरिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा स्कुल विभागलाई लिएर नयाँ ट्विस्ट आएको छ।
नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्कुल विभाग आफूले पाउनु पर्ने दाबी प्रस्तुत गरेका छन्।
पार्टीभित्रको शक्तिशाली वैचारिक अंग स्कूल विभागमा नेकपा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी नछोडिरहँदा भुसालले आफू सो जिम्मेवारीका लागि उपयुक्त भएको उल्लेख गरेका हुन्।
शीर्ष नेताहरुसँग भेटेर आफ्नो भनाइ प्रस्तुत गरिसकेको उनले नेपालखबरलाई बताए। पार्टीलाई वैचारिक रुपमा अघि बढाउन आफूसँग योजना रहेको उनको भनाइ छ।
‘स्कुल विभाग कसरी चलाउँदा राम्रो हुन्छ भन्नेबारे दाबी गर्ने साथीहरु सबैले आ–आफ्नो प्रस्ताव राखौं। वैचारिक रुपमा पार्टीलाई सक्षम बनाउने योजना ल्याउँ,’ भुसालले नेपालखबरसँग कुराकानी गर्दै भने, ‘पहिले स्कुल विभाग भनेको के हो ? त्यसलाई कसरी सञ्चालन गर्ने स्पष्ट नभइ व्यक्तिको नाममा हानाथाप गर्नु राम्रो होइन।’
भुसाल एमालेका पूर्व उप महासचिव हुन्। एमालेको नवौं महाधिवेशनमा भुसालले अघि सारेको विचारलाई पारित गरेको थियो। आठाैं महाविधेशनमा पूरक प्रस्तावका रुपमा उनले प्रस्ताव अघि सारेका थिए। उनले गरेको व्याख्याकै आधारमा पार्टीले नेपाली समाजका चरित्र परिवर्तन भएको नीति पारित गरेको थियो।
एमालेको नवौं महाधिवेशन पछि भुसालले स्कुल विभागको प्रमुख हुनुपर्ने दाबी गरेका थिए।
‘मेरो पहिलेदेखिकै दाबी हो। पार्टीको महाधिवेशनपछि पनि मलाई नदिन स्कुल विभाग अध्यक्ष स्वयंले राख्नुभयो। यदि पार्टीले न्याय गर्ने हो भने स्कुल विभाग मलाई दिनुपर्छ’, उनले भने। त्यतिबेला एमालेका अर्का स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि सो विभाग आफूले पाउनु पर्ने दाबी गरेका थिए।
जिम्मेवारी बाँडफाँटको समयमा अध्यक्ष केपी शर्मा ओलीले सो विभाग आफैँसँग राखेर पछि पोखरेललाई उपप्रमुख बनाएका थिए। महाधिवेशनमा ओली र भुसाल फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरेका थिए।
नेकपाले जनताको जनवादलाई पार्टीको कार्य नीति बनाएर स्वीकार गरिसकेको अवस्थामा सचिवालय सदस्य ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) लाई निरन्तरता दिनुपर्ने बताएपछि पूर्व माओवादी पक्ष रुष्ट छ। २०७६ साउन ५ गते अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पूर्व माओवादी नेताहरुको बैठकले पोखरेलको नाउँमा सहमति बन्न नसक्ने निर्णय नै गरेको नेकपा वृत्तमा चर्चा छ। पूर्व एमालेको भागमा संगठन र विदेशजस्ता महत्वपूर्ण विभाग परेकोले स्कुल विभाग आफूले पाउनुपर्ने खुमलटार बैठकले निर्णय गरेको थियो।
नेकपाका ३२ विभाग छन्। पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीले १४ विभाग पाउने दुई अध्यक्षबीच सहमति बनेको छ।

प्रतिक्रिया