भारतका विदेशमन्त्री एस. जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच आज बिहीबार द्विपक्षीय वार्ता हुनसक्ने बताइएको छ।
सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को बैठकमा भाग लिन मस्को पुगेका दुवै देशका मन्त्रीबीच सीमा तनाव साम्य पार्नेबारे छलफल हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
रसिया–इन्डिया–चीन (आरआईसी) का विदेशमन्त्री नामक कार्यक्रममा पनि जयशंकर र वाङबीच भेट हुने भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ।
गत जुनमा भारत र चीनका सैनिकहरुबीच घम्साघम्सी भएपछि चर्केको भारत–चीन सीमा विवाद थप बल्झिँदै गएको छ।
सो भिडन्तमा भारतकाा २० जना सैनिक मारिएका थिए। अहिलेको सीमा विवादलाई गत ४५ वर्षयता भारत र चीनबीच भएको सबैभन्दा जटिल विवादको रुपमा लिइएको छ।
जयशंकरले गतसाता मात्रै पूर्वी लद्दाखको स्थितिलाई निकै गम्भीर भन्दै यसको समाधानका लागि दुई पक्षबीच ‘निकै निकै गहन वार्ता’ गर्नुपर्ने बताएका थिए।
भारतीय रक्षामन्त्री राजनाथ सिंह र उनका चिनियाँ समकक्षी वेई फेंगेबीच एससीओकै साइडलाइनमा भेट भएको तीन दिनपछि आज दुई विदेशमन्त्रीबीच भेट हुन लागेको हो।

प्रतिक्रिया