सत्तारुढ दल नेकपाभित्र पाँच महिनादेखि जारी विवाद तत्कालका लागि साम्य हुनेगरी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव तयार पारेका छन्।
दुई अध्यक्षले सोमबार, मंगलबार र बुधबार छलफल गरी बैशाखदेखि जारी पार्टीभित्रको विवाद समाधानको संयुक्त प्रस्ताव तयार गरेका हुन्। सो प्रस्ताव शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत गरिनेछ।
विवाद समाधानको लागि साउन ३० गते गठन गरिएको ६–सदस्यीय कार्यदलले दिएको सुझाव, भदौ १८ गते बसेको सचिवालय बैठकमा नेताहरुले दिएको सुझाव समेतलाई समेटेर दुई अध्यक्षले प्रस्ताव तयार गरेको त्यसबारे जानकार एक नेताले बताए।
दुबै अध्यक्षसँग निकट रहेका ती नेताका अनुसार पार्टी एकताको महत्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा अधिकार स्पष्ट गर्ने, केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पुनरावलोकन गर्ने, पार्टी एकताको बाँकी काम तत्काल सम्पन्न गरी महाधिवेशनमा केन्द्रित हुने, सरकारको कामकारवाही प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन, अमेरिकी आर्थिक सहयोग समेटिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका विषयमा सहमति जुटेपछि संयुक्त प्रस्ताव तय भएको हो ।
बुधबार ओली र प्रचण्डले सो प्रस्तावलाई अन्तिम रूप दिएर अध्ययन गर्न स्थायी समिति सदस्यहरुलाई पठाइएको छ।
बालुवाटार निकट स्रोतका अनुसार १५ पेजमा रहेको सो प्रस्ताव १५ बुँदामै समेटिएको छ।
याे पनि: नेकपामा कार्यविभाजनः दुई अध्यक्षमध्ये कसको भूमिका कति?
विवाद समाधान गर्न दुई अध्यक्षले प्रस्ताव पेश गर्ने भएपछि स्थायी समिति बैठक दुई दिनमै सकाउने तयारी छ।
अध्यक्षद्वयको सो प्रस्तावमा बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई समेत मान्य हुनेगरी तयार पारिएको एक नेताले जानकारी दिए।
वैशाखबाट १३ साउनसम्म उत्कर्षमा पुगेको नेकपा विवादलाई समाधान गर्ने गरी सो प्रस्ताव तयार पारिएको बताइएको छ।

प्रतिक्रिया