लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरियता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ वरियतामा सन्दीप एक स्थान खस्किएका हुन्।
नयाँ वरियतामा सन्दीप ८०औँ स्थानमा रहेका छन्। उनले कूल ३ सय ८९ रेटिङ अंक पाउनुभएको छ । यस अघि आईसीसीले सार्वजनिक गरेको बरियतामा उनी ७९ औँ स्थानमा रहेका थिए। हाल क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एन्ड टोबागोमा रहेका थिए। उनले उक्त प्रतियोगितामा ११ खेलमा १२ विकेट लिएका थिए।
यस्तै विश्व बलिङ वरियतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। दुवै जना हाल सीपीएल खेलिरहेका छन्। सीपीएलमा राशिदले बार्बाडोसबाट तथा मुजिबउरले जमैकाबाट खेलेका छन्। यस्तै आईसीसीको बलिङ वरियतामा अष्ट्रेलियाका एस्टन अगर तेस्रो, दक्षिण अफ्रिकाका ताब्रेज सामी चौंथो तथा अष्ट्रेलियाकै एडम जाम्पा पाँचौं स्थानमा रहेका छन्।
यसैगरी आईसीसीले जारी गरेको ब्याटिङ वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ७०औँ स्थानमा रहेका छन्। उनको ४०० रेटिङ अंक छ। इंग्ल्यान्डका डाविड मालन टी २० ब्याटिङ वरियताको शीर्ष स्थानमा रहेका छन्। पाकिस्तानका बाबर आजम दोस्रो स्थानमा रहेका छन्।
यस्तै टी–२० वरियतामा नेपाल १५औँ स्थानमा यथावत छ। यसअघि नेपाल विश्व बलिङ वरियतामा ११ औँ स्थानसम्म पुगिसकेको छ। शीर्ष वरियतामा भने अस्ट्रेलिया छ। बरियतामा इङ्ल्याण्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन्। रासस

प्रतिक्रिया