सांसदहरुले कोरोना भाइरस नियन्त्रणका लागि व्यवस्थित आइसोलेसन र समुदायमा जनचेना अभिवृद्धि गर्नुपर्ने बताएका छन।
लक्षण नभएका व्यक्तिहरुलाई सरकारले होम आइसोलेसनमा राख्ने नीतिले संक्रमणको दर बढेको सांसदहरुले बताएका हुन्। संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा भएको छलफलमा सांसदहरुले होम आइसोलेसनको विकल्प खोज्नुपर्ने, तरकारी बजारमा अनुगमनको दायरा बढाउनुपर्ने र विभिन्न संघ संस्था तथा पार्टीका कार्यकर्ताहरुलाई स्वयमसेवी रुपमा परिचालन गर्नुपर्ने बताएका छन्।
सांसद सरिता न्यौपानेले होम आइसोलेसन व्यवस्थित गर्नुपर्ने बताइन्। उपत्यकाका अधिकांश घरहरुमा पुरै परिवारका लागि एउटा मात्रै सौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा संक्रमितका लागि उचित व्यवस्था गर्नुपर्ने उनले बताइन्। उनले ल्याबको रिपोर्ट ढिला आउँदा पनि संक्रमणको दर बढ्न सहयोग पुगिरहेको तर्फ ध्यानाकर्षण गराइन्।
सांसद अञ्जना विशंखेले स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका व्यक्तिहरुको सूची संकलन गरी स्वयमसेवी रुपमा परिचालन गर्नेगरी अगाडी बढ्नुपर्ने बताइन्। निःशुल्क सेवा गर्न सक्ने र पारिश्रमिक लिएर काम गर्नेहरुलाई वर्गिकरण गरेर परिचालन गर्नुपर्ने उनले बताइन्।
सांसद सन्त थारुले सीमा क्षेत्रमा कडाई गरेर विभिन्न संघ संस्था र पार्टीका कार्यकर्ताहरुलाई कोरोना नियन्त्रणका लागि परिचालन गर्नुपर्ने बताए। टिभीमा देखिने गरेर कुरा मात्रै नगरेर काम पनि सहि तरिकाले गर्नुपर्ने भन्दै उनले आक्रोश व्यक्त गरे।
उपसमिति संयोजक जीवनराम श्रेष्ठले बजारमा गुणस्तरहीन स्यानीटाइजर बिक्री भइरहेको गुनासो आएकाले अनुगमन गर्नुपर्ने बताए। कालीमाटी तरकारी बजारमा धेरै संख्यामा संक्रमण रहेका व्यक्तिहरु रहेको आशंका व्यक्ति गर्दै उनले व्यापार व्यवसाय गर्न नपाउने डरले लुकेर बसेका संक्रमितलाई खोज्नुपर्ने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ। आजमात्रै ९ जनाको मृत्यु भएको छ। आज देशभरी ९ सय ८० जना संक्रमित थप भएका छन्। आजसम्म संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

प्रतिक्रिया