नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेकपाको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन्।
सोमबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले विप्लव नेकपाको कार्यशैली जनक्रान्ति हो कि जनसंघर्ष भन्ने प्रस्ट नभएको बताए। उनले भने, ‘उहाँहरुको कार्यशैली नै प्रस्ट छैन। गर्न खोजेको जनसंघर्ष हो कि जनक्रान्ति?’ विप्लव नेकपा र क्रान्तिकारी माओवादीबीच एकताको चर्चा चलिरहेको बेला वैद्यको यो भनाइ आएको हो।
तत्कालीन एमाओवादीबाट सँगै फुटेका वैद्य र विप्लवबीच कार्यशैलीको विषयलाई लिएर फूट भएको थियो। फुटपछि विप्लव नेतृत्वको नेकपाले जनक्रान्ति गर्ने भन्दै एकीकृत क्रान्तिको कार्यदिशा सार्वजनिक गरेको थियो। विप्लव नेकको कार्यदिशा सशस्त्र संघर्षबाटै क्रान्ति सम्भव छ भन्ने रहे पनि त्यो प्रस्ट नरहेको वैद्यको भनाइ छ।
विप्लव नेकपाको समस्या राजनीतिक समस्या भएको भन्दै त्यसको हल राजनीतिक तवरबाट खोज्न उनले सरकारलाई आग्रह गरेका छन्।
सरकारप्रति आक्रमक रुपमा प्रस्तुत भएका वैद्यले यो सरकारबाट विकास र समृद्धि सम्भव नभएको बताए। दुई तिहाइ मतसहितको सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा उल्टै जनविरोधी काम गरेको उनको आरोप थियो।
सत्तारुढ नेकपाले बाटो बिराएको बताउँदै उनले अहिले नेकपा हिँडेको बाटोबाट विकास, समृद्धि, जनमुक्ति केही पनि सम्भव नभएको उनको तर्क थियो।

प्रतिक्रिया