प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनभन्दा पहिले प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन्।
उनले आफ्नो मन्त्रिपरिषदमा रहेका मन्त्रीहरु भने हेरफेर हुनसक्ने बताए।
‘डेढ वर्षपछि स्थानीय निर्वाचनको माहोल सुरु भइसक्छ। त्यसपछि चुनावबाट अहिलेकै मुख्यमन्त्रीहरु पनि आउन सक्छन् वा परिवर्तन पनि हुनसक्छन्,’ प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भने।
उनले यो बीचमा मुख्यमन्त्री परिवर्तन गर्दा अस्थिरता निम्तिने र स्थायित्वमा प्रभाव पर्ने बताए।
तर, आफ्नो मन्त्रिपरिषद्का सदस्य भने परिवर्तन हुनसक्ने ओलीको धारणा थियो।
‘मन्त्रिपरिषदमा हेरफेरले स्थायित्वमा तलमाथि पार्दैन। मन्त्रिपरिषद् सदस्यले प्रधानमन्त्रीकाे नीति निर्देशनअनुसार काम गर्ने हो,’ उनले भने।
आफूले मन्त्रीहरुको हेरफेरबारे विचार गरिरहेको बताए।
कार्यकाल सकिन लागेका अर्थमन्त्री डा. युवराज खतिवडालाई निरन्तरता दिने वा नदिनेबारे अहिले नै घोषणा गर्न उचित नहुने प्रधानमन्त्रीको भनाइ थियो। त्यसबारे दुई-चार दिन प्रतिक्षा गर्न आग्रह गरे।
उनले त्यसबारे आफूले विचार गरिरहेको र खतिवडाकै निरन्तरता पनि हुनसक्ने वा अरु कसैले उनले भन्दा राम्रो गर्नसक्ने लागेमा परिवर्तन पनि हुनसक्ने बताए।

प्रतिक्रिया