प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा दुई जना अध्यक्ष भएजस्तै प्रधानमन्त्री दुई जना नहुने बताएका छन्।
‘अहिलेको व्यवस्था बुझ्न सक्नुपर्छ, पार्टीमा अध्यक्षमण्डल हुन्छ, दुई जना अध्यक्ष हुन्छ’, प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले शनिबार साँझ प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा भने, ‘तर सरकारमा प्रधानमन्त्री मण्डल हुँदैन, दुई जना प्रधानमन्त्री वा दुई जना राष्ट्रपति हुँदैन।’
ओलीले कार्यकारी अधिकरासहित प्रचण्डले पार्टीको जिम्मेवारी सम्हाल्ने र आफुले प्रधानमन्त्रीको हैसितमा सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।
‘मंसिरमै हामीले एउटा समझदारी गरेका थियौं, बिचमा केही तलमाथि भएपनि हामी त्यसमै छौं’, ओलीले भने, ‘पार्टीमा दुई जना अध्यक्ष छौं, कार्यकारी अध्यक्षका हिसावले मुख्यत सहमतकिा आधारमा पार्टी सञ्चालन गर्नुहुन्छ, म पनि उहाँसँग सरसल्लाह गरेर प्रधानमन्त्रीको अथोरिटीसहित सरकार चलाउँछु।’
प्रधानमन्त्री ओलीले सहमतिमै पार्टीको महाधिवेशन हुने बताए।
‘पार्टी एकता एकछिनका लागि गरेको होइन, अलि पर्तिर जाउँ अनि आफ्नो आफ्नो बाटो लागौं भनेर गरेको होइन’, ओलीले भने, ‘पाँच वर्ष स्थिर सरकार सञ्चालन गर्न र परिवर्तनका लागि हो।’
प्रधानमन्त्री ओलीले पाँच वर्ष यही सरकार स्थिर रुपमा चल्ने र अर्को चुनावपछि मात्रै सरकार परिवर्तन हुने बताए।
‘अर्को चुनावपछि प्रधानमन्त्री दोहोरिने कि नदोहोरिने, पार्टीले कसलाई पठाउने निर्णय गर्छ, संसदीय दलले के निर्णय गर्छ त्यसमा भर पर्छ’, ओलीले भने।
प्रधानमन्त्री अर्को चुनावपछि परिवर्तन भएजस्तै मुख्यमन्त्री पनि चुनावपछि मात्रै परिवर्तन हुने ओलीले बताए।
अहिले चर्चा भएजस्तो मुख्यमन्त्री परिवर्तन नहुने स्पष्ट गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जस्तै मुख्यमन्त्री पनि अर्को चुनावपछि नै परिवर्तन हुन्छ, अहिले हुँदैन।’
प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रीपरिषदका सबै मन्त्रीले राम्रो काम गरिरहेको दाबी गरे।
‘सबै मन्त्रीले राम्रो काम गरेका छन्, कुनै मन्त्रीसँग मेरो असहमती छैन’, ओलीले भने, ‘तर मन्त्री हेरफेर गरेर सरकारको स्थयित्वमा असर पर्दैन।’
प्रधानमन्त्री ओलीले स्पष्ट नबताए पनि अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने संकेत गरे। अर्थमन्त्रीका रुपमा खतिवडाले राम्रो काम गरिरहेको उनले बताए।
‘अहिले नै नभनौं, दुई चार दिन पर्खौंन, यदि युवराज खतिवडाभन्दा राम्रो अर्कोले गर्न सक्छ भन्ने भयो भने अर्कोलाई पनि जिम्मा दिन सकिन्छ’, ओलीले भने, ‘कहिलेकाहीँ अरु पक्ष पनि हेरेर जिम्मेवारी दिनुपर्ने हुन्छ। समग्रतामा हेरेर निष्कर्ष निकालेर मन्त्रीपरिषदबारे निर्णय हुन्छ।’
वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय समाप्त भयो
नेकपाको सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय अब समाप्त भएको प्रधानमन्त्री ओलीले बताए।
‘वामदेवलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि, उहाँले नै राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो’, ओलीले भने।

प्रतिक्रिया