दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने चीनले हालैमात्र सो क्षेत्रमा सैन्य अभ्यास गर्नुका साथै क्षेप्यास्त्र परीक्षण गरेको छ।
सैन्य गतिविधि बढाउँदै लगेको चीनले यतिबेला आफूले अमेरिकी मिसाइल डिस्ट्रोयर जहाजलाई सो क्षेत्रबाट टाढै रहन चेतावनी दिएको बताएको हो।
चिनियाँ सेनाले शुक्रबार अमेरिकी जहाजले सिसा भन्ने आफ्नो क्षेत्र हुँदै यात्रा गरेको आरोप लगाएको छ।
चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता सिनियर कर्नेल लि हुवामिनले भनेका छन्,‘दक्षिण चीन सागरको टापु र यस नजिकैका पानीमा चीनको निर्विवाद सार्वभौमिकता छ र यस क्षेत्रको शान्ति र स्थायित्वको रक्षा गर्न हाम्रा सेना सँधै सतर्क छन्।’
गत बुधबार बिहान चीनले क्षेप्यास्त्रहरु परीक्षण गरेपछि अमेरिकी नौसेनाले दक्षिण चीन सागरमा सैन्य जहाज तैनाथ गरेको छ।
अमेरिकी नौसेनाको यूएस प्यासिफिक फ्लिटले अन्तर्राष्ट्रिय पानीमा समुद्री कानून सुदृढीकरण गर्न अमेरिकी सेना पठाएको बताएको छ।
गत महिना अमेरिकाले चीनले दक्षिण चीन सागर दाबी गर्नु अवैधानिक कार्य भएको बताएको थियो।
दक्षिण चीन सागर विवादित जलक्षेत्र मानिन्छ। चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।
तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्। चीनसँगै ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।
अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको जनाएको छ।
चीनले अमेरिका यस क्षेत्रको दाबीकर्ता नभएको र उसले यस क्षेत्रमा सैन्य अभ्यास गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउँदै आएको छ।
अमेरिकाले भने आफ्ना सहयोगी राष्ट्रको सुरक्षा गर्नु आफ्नो कर्तव्य भएको बताउँदै आएको छ।
अन्तर्राष्ट्रिय अदालतले सन् २०१६ मा दक्षिण चीन सागरलाई चीनले दाबी गर्नु अवैधानिक र आधारहीन कार्य भएको बताएको थियो।
अमेरिका लगायतका मुलुकले चीनले अन्तर्राष्ट्रिय अदालतको फैसला मान्नुपर्ने बताएका छन्।
चीनले भने दक्षिण चीन सागरको विषय आन्तरिक मामिला भएकाले यस विषयमा हस्तक्षेप नगर्न चेतावनी दिँदै आएको छ। एससीएमपी

प्रतिक्रिया