ad ad

राजनीति


ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको अधिवेशन सुरु

ट्रम्पको उम्मेदवारीलाई अनुमोदन गर्न रिपब्लिकन पार्टीको अधिवेशन सुरु

नेपालखबर
भदौ ८, २०७७ सोमबार ८:३०,

चार दिने यस भेलाले ट्रम्पको उम्मेदवारीलाई औपचारिकता दिनेछ।

गत साता डेमोक्र्याटिक पार्टीको चार दिने भर्चुअल भेलाले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरिसकेको छ। बाइडेनले उपराष्ट्रपतिमा मनोनयन गरेका कमला ह्यारिसलाई पनि सोही भेलाले अनुमोदन गरिसकेको छ।

कोरोना,भाइरस महामारीका कारण चार्लोट्टे सम्मेलन केन्द्रको भेलाको आकार सानो बनाइएको रिपब्लीकन पार्टीले जनाएको छ।

रिपब्लीकन पार्टीको यो सम्मेलन राष्ट्रपति ट्रम्पका लागि विशेष महत्वको रहने छ, किनभने पछिल्लो पटक गरिएका राष्ट्रव्यापी र राज्यस्तरका चुनावी मतसर्वेक्षणले राष्ट्रपतिलाई बाइडेनको तुलनामा कमजोर स्थितिमा देखाएका छन्।

विश्लेषकहरुका अनुसार राष्ट्रपति ट्रम्पका लागि आगामी चुनाव जनमतसंग्रह सरह हुनेछ। उहाँले यसअघि अघि सारेका कयौं नीतिको कार्यान्वयन नभएको र कोरोनाभाइरसका सम्बन्धमा ठोस योजना अघि नसार्दा ठूलो संख्यामा मानिसको मृत्यु भएको, अर्थतन्त्र शिथिल बनेको तथा मानिसहरु बेरोजगार बनेको स्थिति छ।

यसबाहेक देशभित्र कानुन व्यवस्थामा सुधार नहुँदा अश्वेत र सीमान्तकृत नागरिकहरुका ठुल्ठूला जुलुस देशव्यापी बनेका छन्।

रिपब्लिकन पार्टीकी अध्यक्ष रोन्ना म्याकडानियलले देशभित्र विषम परिस्थिति रहे पनि रिपब्लीकनको चुनावी अभियान कुनै पनि स्थितिमा कमजोर नहुने बताएका छन्।

राष्ट्रपति ट्रम्पले पनि पार्टीभित्रबाट आफ्ना विषयमा सकारात्मक धारणा प्राप्त हुने विश्वास व्यक्त गर्नु गरेका छन्। फक्स न्यूज च्यानललाई आइतबार दिएको एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पार्टी सम्मेलनमा प्रतिनिधिहरुले आफूलाई पर्याप्त साथ, सहयोग र समर्थन गर्ने बताए।

विगतमा दुबै दलले चुनावी वर्ष ठूलै सभा, समारोह र भेला गर्ने प्रचलन थियो। तर यसवर्ष कोरोना भाइरसले सबै कृयाकलापलाई स्थिर तुल्याइदिएको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .