राजनीति


१५ सयकाे सहभागितामा अन्त्येष्टि गरिसकेपछि पितामा कोरोना पुष्टि : तर पूर्वमन्त्री बस्नेतद्वारा स्वाब दिन अस्वीकार

१५ सयकाे सहभागितामा अन्त्येष्टि गरिसकेपछि पितामा कोरोना पुष्टि : तर पूर्वमन्त्री बस्नेतद्वारा स्वाब दिन अस्वीकार

नेपालखबर
साउन २९, २०७७ बिहिबार ५:८,

झन्डै १५ सय मलामी गएर दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का ८४ वर्षीय व्यक्तिका पुत्र पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नै स्वाब दिन अस्वीकार गरेका छन्।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा बुधबार स्वाब संकलनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयबाट गएको स्वास्थ्यकर्मी टोलीलाई पूर्वमन्त्री बस्नेतले स्वाब दिन नमानेका हुन्।

‘उहाँको परिवारले पीसीआर परीक्षण गर्न अस्वीकार गरिरहेको छ,’ मेयर शेर्पाले बिहीबार बिहान नेपालखबरसँग भने, ‘यसले सिंगो बाह्रबिसे नगरका बासिन्दालाई जाेखिममा पार्ने देखिएको छ, हामी चिन्तित छौं।’

नगर प्रमुख शेर्पाका अनुसार स्वास्थ्यकर्मीको टोली उनको स्वाब लिन ५ घण्टा पर्खिंदा पनि उनले मानेनन्। ‘अब यसबारे म आज विज्ञप्ति निकाल्दै छु,’ मेयर शेर्पाले भने।

एकदमै नजिकको परिवारले स्वाब दिन नमानेपछि अन्य नातेदार र छिमेकी गरेर २१ जनाको स्वाब संकलन गरी पठाइएको उनले जानकारी दिए। उनी आफैं पनि मलामी गएका थिए। ‘मेरो स्वाब पनि पठाएको छु,’ उनले भने, ‘तर एकदमै नजिकको परिवारले स्वाब दिन मानेको छैन, हामी अचम्मित छौं।’

यता पूर्वमन्त्री बस्नेतले भने हिन्दू संस्कारअनुसार क्रियामा बसेका बेला कसैलाई छुन नहुने भएकाले स्वाब नदिएको दाबी गरेका छन्। ‘१३ दिन पूरा नभएसम्म म स्वाब दिन्नँ,’ नेपाखबरको जिज्ञासामा उनले भने।

अहिले आफूहरू घरमा चार भाइ बुबाको क्रियामा बसेको उनले जानकारी दिए। ‘अन्य छुन मिल्ने आफन्तको हामीले स्वाब संकलन गराएका छौं,’ उनले भने, ‘क्रियामा बसेका र छुन नमिल्ने सदस्यको अहिले दिँदैनौं।’

खासमा राजनीतिक टकराव

बहाना जेसुकै बनाए पनि खासमा पितृशोकमा परेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत र नेकपाका स्थानीय नेताबीच टकराव प्रमुख कारण पाइएको छ। पूर्वमन्त्री बस्नेत कांग्रेसका केन्द्रीय सदस्य हुन् भने मेयर शेर्पा तत्कालीन एमाले (अहिले नेकपा) बाट निर्वाचित हुन्।

पूवमन्त्री बस्नेत आफूविरुद्ध पीसीआर रिपोर्ट नआउँदै बुबाको शव अस्पतालबाट जबर्जस्ती लगेको भनेर लगाइएको ‘आरोप’ प्रति असन्तुष्ट छन्। यसबारे उनले यसअघि नै विज्ञप्ति जारी गरिसकेका छन्।

‘तपाईं लेख्नुहुन्न होला, मप्रति राजनीतिक पूर्वाग्रह राखेर पूर्वमाओवादी सम्बद्ध सिन्धुपाल्चोकका अनलाइनले मैले जबर्जस्ती लास उठाएको भन्ने भ्रमपूर्ण समाचार फैलाए,’ बिहीबार बिहान नेपालखबरसँगको कुराकानीमा पूर्वमन्त्री बस्नेतले भने, ‘मैले हिजो आएको स्वास्थ्यकर्मीको टोलीलाई पनि पहिले शव मैले जबर्जस्ती ल्याएको होइन, अस्पताल (टिचिङ) ले जबर्जस्ती पठाएको भनेर विज्ञप्ति जारी गर्नू भनेको छु।’

बाह्रबिसे नगरपालिकाका मेयर शेर्पाले पनि पूर्वमन्त्री बस्नेतले पहिले नगरपालिकाका तर्फबाट उल्लिखित बेहोराको विज्ञप्ति निकाल्नुपर्ने सर्त राखेको बताए। ‘लास जबर्जस्ती उठाएर ल्याउने अनि होइन भनेर नगरपालिकाले विज्ञप्ति जारी गर्नुपर्ने! यस्तो हुन सक्दैन,’ मेयर शेर्पाले भनेा।

याे पनि :  १५ सय जना सहभागी भएर दाहसंस्कार गरिसकेपछि पूर्वमन्त्रीका पितामा कोरोना संक्रमण पुष्टि!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad